समयमै रासायनिक मल नल्याउने दुई कम्पनीसँगको ठेक्का सम्झौता रद्द, धरौटी जफत

 भदौ २१, २०७७ आइतबार १९:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तोकिएको समयमा रासायनिक मल नल्याउने ठेकेदार कम्पनीलाई सरकारले कारबाही गरेको छ । मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापर्वाहीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको र उनीहरुसँग भएको ठेक्का रद्द गरिएको कृषि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्द भएको हो । उनीहरुको धरौटीसमेत जफत गर्ने निर्णय गरेको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । कम्पनीको निर्णयपछि दुवै कम्पनीले राखेको पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुनेछ ।

फरक–फरक ठेक्कामार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र  माघ ४ मा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।

यसवर्ष धान रोपेपछि हाल्नुपर्ने मलको अभाव हुन गएकोमा दुखी भएको मन्त्री भुसालले बताउनुभयो । नेपालमै रासायनिक मलको कारखाना खोल्नेबारे दशकौँदेखि चर्चा भएको तर सन् १९९५ तिर गरिएको एउटा अध्ययनले नेपालमा मल कारखाना खोल्न सम्भव नभएको देखाएको थियो । तर २०१६ मा लगानी बोर्डले गरेको अध्ययनले नेपालमा मल कारखाना सम्भव भएको तर केही समय लाग्ने सुझाएको थियो ।

कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रसायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरेको र त्यसले काम थालेको पनि विज्ञप्तिमा उल्लेख छ । अहिले ३२ हजार पाँच सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको र वितरण भइरहेको छ ।

चाहिने समयभन्दा ढिलो गरी आएको हुँदा कतिपय जिल्लामा मल वितरणमा समस्या देखिएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया