बजारमा किनमेल र कार्यालयमा कामको लागि जाँदा ख्याल गरौँ

 असोज ७, २०७७ बुधबार १०:२६:५४ | डा. अनुप बास्तोला
unn.prixa.net

काठमाण्डाै - सडक बजारमा चहलपहल बढे पनि कोरोनाको जोखिम कम भएको छैन । किनमेलको लागि बजारमा जाँदा होस् या कुनै कामको लागि कार्यालय, बैंक तथा अरु भीडभाड हुने ठाउँमा जाँदा विशेष सावधानी अपनाउनुपर्छ ।

दुई मिटरको दूरी कायम गर्ने कुरालाई सधैं व्यवहारमा लागू गर्नुपर्छ । बजार, पसल तथा कार्यालय सबै खुलिसकेकाले र भीडभाड हुने अवस्था आएकाले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने हुन्छ । मास्क लगाएर मात्रै हुँदैन, तरिका मिलाएर त्यसको प्रयोग गर्नुपर्छ । 

कुनै सतही भाग छोएपछि स्यानिटाइजर प्रयोग गर्ने वा साबुनपानीले हात धुनुपर्छ । अनावश्यक रुपमा भीडभाड हुने ठाउँमा जानु हुँदैन । सकेसम्म भीडभाडबाट बच्नुपर्छ । कुनै कामका लागि आफू गएको ठाउँमा भीडभाड भएमा पालो कुरेर भीडभाड कम भएपछि मात्र जानुपर्छ ।

दैनिक उपभोग्यका सामान छुँदैमा कोरोना सङ्क्रमण भइहाल्ने भन्ने होइन । सबैभन्दा महत्वपूर्ण कुरा तरकारीलगायतका सामान किनेपछि प्लाष्टिकको झोलालाई व्यवस्थित गर्ने र साबुनपानीले हात धुने कुरालाई भने निरन्तरता दिनुपर्छ ।  

सम्बन्धित व्यवस्थापन पक्षले सार्वजनिक ठाउँमा हुन सक्ने हुलमुल व्यवस्थापन गर्नका लागि सहयोग गर्नुपर्छ । सेवाग्राहीले पनि मुख्य रुपमा तीन वटा कुरालाई बढी ध्यान दिन आवश्यक छ । ती भनेका भौतिक दूरी कायम गर्ने, बेलाबेला स्यानिटाइजरको प्रयोग गर्ने र मास्कको नियमित प्रयोग गर्नु हो ।  

म सङ्क्रमणको जोखिममा हुन सक्छु भन्ने कुराको मनन जतिबेला पनि गर्नुपर्छ ।  सावधानीका उपाय प्रत्येक दैनिकीमा अपनाउनु जरुरी हुन्छ । सकेसम्म भीडभाड नगर्ने, मास्क लगाउने, दूरी कायम गर्न भुल्नु हुँदैन । कुनै ठाउँमा दूरी कायम नभएको भेटिएमा सम्झाउनुपर्छ । यसमा अझ यूवा पुस्ताको भूमिका महत्वपूर्ण हुन्छ ।

यस्तै राज्य संयन्त्र र अरु सम्बन्धित निकायले पनि सार्वजनिक ठाउँहरुमा हुने भीडभाड कम गर्न मद्दत गर्नुपर्छ । काम गर्ने ठाउँबाट घर फर्किसकेपछि पनि विभिन्न कुरामा ध्यान दिनुपर्छ । साबुनपानीले हात धुने कुरालाई व्यवस्थित गर्नुपर्छ । सके नुहाइधुवाइ गरेर बस्नु राम्रो हुन्छ । तर मुख्यरुपमा चाहिँ बाहिर वा कार्यालय लगायतका ठाउँमा नै जोगिनुपर्छ । जोखिम हुने ठाउँमा नै बढी ध्यान दिनुपर्छ । 

कार्यालयमा दूरी कायम भएको छ कि छैन ? कोठामा राम्ररी हावा चलेको छ कि छैन  ? सँगै काम गर्ने साथीबीच दूरी कायम भएको छ कि छैन ? भन्ने कुरालाई ध्यान दिने गर्नुपर्छ । अनि घर फर्किसकेपछि पनि साबुनपानीले हात धुन, सरसफाइमा ध्यान दिन र स्वास्थ्य मापदण्ड पालना गर्न बिर्सनु हुँदैन ।

(डा. बास्तोलासँग कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. अनुप बास्तोला

डा. बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया