तामाकोशीको शेयर आवेदनका लागि म्याद थप, पाँच गुणा बढी आवेदन पर्ने

 साउन २५, २०७५ शुक्रबार ६:१७:२७ | रासस
unn.prixa.net

काठमाडौं - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप भएको छ । 

काठमाडौंमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रबारसम्मको समयावधि भए पनि एक साताको म्याद थप गरिएको हो । थप गरिएको अवधिअनुसार आगामी भदौ १ गतेसम्म राजधानीमा शेयर आवेदन दिन सकिनेछ । यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले जनाएको छ । 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले आजै एक साता समय थप गरिएको जानकारी दिनुभयो । “स्थानीय बासिन्दा, आयोजना र बिक्री प्रबन्धकको बोर्डले एक साताको अवधि थप गरेको छ, बिक्री प्रबन्धकले शुक्रबार सूचना प्रकाशित गरेर जानकारी देलान् ।” 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले राजधानी काठमाडौँमा उत्साहप्रदरुपमा शेयर आवेदन भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार साँझसम्म करीब ४५ हजारले आवेदन गरेको जानकारी बिक्री प्रबन्धकले गराएको छ । बुधबार एकैदिन १५ हजारले शेयर आवेदन गरेका थिए । आज पनि बैंक तथा वित्तीय संस्थामा ठूलो भीड लागेका कारण करीब १५ हजारको थप आवेदन परेको हुनसक्ने उहाँको भनाइ छ । बुधबार अबेरसम्म रु ९७ करोड ८६ लाख बराबरको आवेदन परेको छ । आज कतिको आवेदन प¥यो भन्नेबारेमा शुक्रबार मात्रै जानकारी प्राप्त हुनेछ । आयोजनाले स्थानीय बासिन्दाका लागि रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्न लागेको थियो । सरकारी नियमानुसार स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरिन्छ । 

करीब पाँच गुणाबढी आवेदन पर्ने 

प्रवक्ता डा न्यौपानेले राजधानीमा नै करीब दुई अर्ब बढीको आवेदन पर्ने अनुमान गरिएको छ । दोलखाका बासिन्दा खेतीपातीमा व्यस्त रहेको र आवेदन फर्म मात्रै गाउँगाउँमा पुग्दै गरेको अवस्थामा सबै संकलन हुँदा पाँच गुणाभन्दा बढी आवेदन पर्ने सम्भावना देखिएको छ । त्यो भनेको करीब रु पाँच अर्ब बराबरको आवेदन पर्ने देखिएको छ । नागरिकले आयोजनाप्रति उत्साहका साथ विश्वास व्यक्त गरेको पाइएको प्रवक्ता डा न्यौपानेले बताउनुभयो । 

स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना आगामी पुस मसान्तसम्ममा निर्माण गर्ने समय तालिका तय गरिएको छ । हाल आयोजनाको ९६ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाले स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरेपछि सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया