आफ्नै देशको बाटो प्रयोग गर्दै छाङरु र तिङ्करवासी

 असोज १७, २०७७ शनिबार २०:१६:२५ | रासस
unn.prixa.net

दार्चुला - दार्चुला नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आउँदाे सोमबार हस्तान्तरण गर्ने भएको छ ।

नेपाली सेनाले झण्डै चार महिनाको प्रयासपछि व्यास गाउँपालिका १ घाँटीबगरमा अत्यन्तै कडा र अप्ठ्यारो पहरो फोरेर बाटो निर्माण गरेको हो । महाकाली नदी किनारको यस क्षेत्रमा सेनाले पहरो फोरेर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

यस बाटो निर्माण गर्न एक करोड ८ लाख रुपैयाँ खर्च भएको छ । पहरो फुटाएको क्षेत्रमा सरसफाइको अन्तिम चरणको काम भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो । घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ ।

सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार याे बाटो हस्तान्तरण गर्ने कार्यक्रम छ । याे बाटो निर्माणको क्रममा नेपाली सेनाका एक जवानले वीरगति प्राप्त  गरेका थिए । चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो ।
 
महाकाली तटीय क्षेत्रको यस बाटो बर्सेनि वर्षात् बाढी पहिरोका कारण भत्किँदै आएको थियो । पैदल बाटोसमेत नहुँदा खलङ्गादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका ९० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करिब ६० परिवारलाई बसाइँ सर्न समस्या हुँदै आएको छ ।

भारतीय सीमा नजिकको छाङरु गाउँ तथा तिब्बत सीमा नजिकको तिङ्कर गाउँमा शौका समूदायको बसोबास छ । उनीहरु हिउँदमा कात्तिकदेखि चैत महिनासम्म दार्चुला सदरमुकाम खलङ्गा बसाइँ सर्ने तथा हिउँ पग्लेपछि गर्मी यामको वैशाखदेखि असोजसम्म व्यास क्षेत्र उक्लँदै आएका थिए ।   
 
झण्डै ४० वर्षअघि यस क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनि हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आएको थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा त्यहाँका बासिन्दा पछिल्लो समय खलङ्गापारिको भारतीय क्षेत्र धार्चुला हुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए ।

बजेट अभावसँगै पहरा फुटाउन पर्याप्त जनशक्ति जुटाउन नसक्दा शौका समुदाय निकै दुःख गरेर बर्सेनि कुञ्चा (बसाइँ सर्नु) जाने गरेको थियो । नेपाली सेनाले पहरो फोरेर बाटो बनाएपछि अब शौका समुदायलाई आफ्नै नेपाली भूमि भएर गाउँ फर्कन सहज भएको छ ।  
 
यस वर्ष कोरोना भाइरसको महामारीका कारण व्यास बसाइँ सर्न शौका समुदायले अत्यन्त कष्ट भोग्नुपरेको थियो । वैशाख पहिलो हप्ता गाईवस्तुसहित जहान बालबच्चा डोर्याउँदै भारतीय बाटो हुँदै छाङरु र तिङ्कर जान खोजे पनि भारतले कोरोनाको कारण देखाउँदै आफ्नो बाटो प्रयोग गर्न दिएन ।

भारतले सीमा बन्द गरेका कारण गाउँ फर्किन एक महिना ढिला भएको छाङ्रुका ललितसिंह बोहराले बताउनुभयो । सेनाले बाटो निर्माण गरेका कारण अब भारतीय बाटो हिँड्ने बाध्यता हटेको उहाँ बताउनहुन्छ ।

घोडेटो बाटो मात्र होइन अब चाँडै छाङरु र तिङ्कर जोड्ने महाकाली कोरिडोरको सडक पनि सेनाले निर्माण गर्ने भएकाले बस चढेर गाउँ आवतजावत गर्न पाइनेमा बोहरा आशावादी हुनुहुन्छ । घाँटीबगरको खोँचमा सेनाले क्याम्प नै खडा गरेर बाटो निर्माण गरेको हो ।
 
पैदल बाटो नहुँदा स्थानीय बासिन्दाले मात्र होइन छाङरु र तिङ्करमा सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले हेलिकप्टर प्रयोग गर्नुपरेको थियो । अब बाटो निर्माण भएसँगै सुरक्षाकर्मीलाई पनि याे क्षेत्रमा आवतजावत गर्न सहज भएको छ ।

अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्मसमेत राखिएको छ । बाटो नभएकै कारण स्थानीय बासिन्दाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि दार्चुला सदरमुकामदेखि हेलिकोप्टरमा खाद्यान्न ढुवानी गर्नुपरेको थियो ।
 
शौका समुदायलाई गाउँ फर्किन कठिनाइ भएपछि सरकारले यस क्षेत्रमा बाटो बनाउने जिम्मेवारी नेपाली सेनालाई सुम्पेको थियो । जेठ दोस्रो हप्ता तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको याे बाटो निर्माणको काम वर्षातका कारण केही समय प्रभावित भएको थियो ।

अब लगत्तै नेपाली सेनाले महाकाली कोरिडोरको सडक निर्माण थाल्नेछ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद पोख्रेलले यस क्षेत्रमा घोडेटो बाटो निर्माण भएकाले स्थानीयवासीका साथै व्यासमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई आवतजावत गर्न सहज हुने बताउनुभयो ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया