‘कमल पोखरी फ्रिज हो, मासु राख्ने कि फलफूल राख्ने ?’

 साउन २६, २०७५ शनिबार १७:२९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणको जिम्मेवारी स्थानीयबासिन्दालाई दिन तयार रहेको बताउनु भएको छ ।

कमलपोखरीको संरक्षणका विषयमा शनिबार भएको छलफलमा मेयर शाक्यले पटक–पटक बनाउने र भत्काउने कामको अन्त्य चाहेकोले स्थानीयबासिन्दाले संरक्षणको ग्यारेन्टी दिएमा कमलपोखरीको जिम्मेवारी स्थानीयबासिन्दालाई दिइने बताउनुभएको हो ।

कमलपोखरी संरक्षणअन्तर्गत महानगरको शहरी योजना आयोगले निर्माण गरेको ढाँचामा स्थानीयले सुझाव दिएपछि मेयर शाक्यले कुनै पनि वहानामा कमलपोखरी निर्माणमा अनियमिता हुन नदिने पनि प्रतिवद्धता जनाउनुभयो ।

छलफलमा आयोगले तयार गरेको कार्यपत्र प्रस्तुत गर्दै आयोगका सदस्य सचिव सरोज बस्नेतले कमल पोखरीलाई बास्तु शास्त्रमा आधारित, ज्ञान प्राप्त गरिने तथा सीपयुक्त कलात्मक सम्पदाका रुपमा विकास गरिने बताउनुभयो ।

यस्तै वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले कमलपोखरीको संरक्षण गर्न कसैले पनि गलत सम्झौता गर्न नहुने बताउनुभयो । कार्यक्रममा स्थानीयबासिन्दा प्रकाश कार्कीले कमलपोखरीलाई रेफ्रिजेरेटरका रुपमा चित्रण गर्दै यसमा मीठा–मीठा मिठाइ राख्ने कि ?, मासु राख्ने कि ?, जुत्ता राख्ने ?, निर्णय गर्ने बेला आएको बताउनुभयो । कार्कीले भन्नुभयो, ‘ठाउँ छ, जे पनि राख्न मिल्छ, के राख्ने भन्ने कुरामा विवेक प्रयोग गरौं ।’

यस्तै बास्तुशास्त्री बासुदेव शास्त्रील कसैले कुनै संरचना तयार पार्नुपर्‍यो पहिले कमलपोखरी हेर्न आउने गरी पोखरीको डिजाइन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीयले पोखरीको सरसफाइ र सुरक्षा बलियो बनाउनुपर्ने, जमिन अतिक्रमण हुन नदिने र अतिक्रमण भएको जमिन फिर्ता ल्याउनुपर्ने, पोखरीको पानीलाई स्वच्छ राख्ने, बालमैत्री, जेष्ठ नागरिकमैत्री हुनुपर्ने बताएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया