डोटीका किसान पनि अलैंची खेतीतिर आकर्षित

 साउन २६, २०७५ शनिबार १८:४१:५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीका किसानहरुको अलैंची खेतीमा आर्कषण बढेको छ । 

धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीनलाई मासेर किसानले धमाधम अलैंची लगाउन थालेका छन् । 

अन्य बालीभन्दा अलैंचीको आम्दानी बढी हुने भएकोले पनि अलैंची खेतीमा किसानको आर्कषण बढेको केआईसिंह गाउँपालिका काफलीका अलैंची खेतीका किसान नारायण धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अलैंचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो बढी मेहनत पनि गर्नुनपर्ने भएकाले यस्को आर्कषण बढेको हो ।’

खोल्सीको कालो सुन भनेर चिनिने अलैंची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैंचीको विस्तार गर्न थालिएको जोरायल गाउपालिका ५ का अर्का अलैंची किसान सेरबहादुर देउवाले बताउनुभयो । 

यहाँका ग्रामीण क्षेत्रका धेरै घरका करेसाबारीसमेत अलैंचीले ढाकेको छ । 

जेठको तेश्रो हप्तादेखि साउन पहिलो सातासम्म अलैंचीको बिरुवा रोप्ने गरिन्छ । 

यहाँका किसानहरुले पूर्वी नेपालको ईलाम, ताप्लेजुङ लगायतका ठाउँहरुबाट अलैंचीका बिरुवाहरु ल्याएर खेती गर्न थालेको स्थानीय किसानहरु बताउँछन् । 

डोटीमा पहिलो पटक किसानहरुले अलैंची लगाएर व्यावसायिक खेती गर्न थालेका हुन् ।

यहाँका किसानहरुले सयांै रोपनी खेतहरुमा अलैंची लगाएको बताइएको छ ।

अहिले भने अलंैचीका बिरुवाका पातमा रोग लागेर केही पात सुक्दै जान थालेपछि किसानहरु चिन्तित भएका छन् ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया