ओखलढुङ्गाकाे खिजीकातीमा एकल पुरुषलाई मासिक भत्ता

 कात्तिक ८, २०७७ शनिबार १९:२३:२४ | रासस
unn.prixa.net

ओखलढुङ्गा – खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्वा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।

सत्तरी वर्ष माथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुष सहाराविहीन बनेकाले वडाको बजेटबाट मासिक ५०० रुपैयाँ आर्थिक सहयोग गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो । 

यस वर्षदेखि खिजीकातीका ६० देखि ६९ वर्ष उमेरका सात एकल पुरुषले मासिक ५०० रुपैयाँका दरले  भत्ता पाउन थालेका छन् । वडा कार्यालयले एकल पुरुषलाई यस वर्षको मासिक भत्ताबापत ६ हजार रुपैयाँ वितरण गरिसकेको छ । खिजीदेम्वा ४ मा १५ एकल पुरुष छन् । उनीहरुमध्ये आठ जना ६० वर्षमुनिका छन् । ६० वर्षमुनिका एकल पुरुष आफै सक्षम हुने भएकाले ६०–६९ वर्षका एकल पुरुषलाई मात्रै मासिक भत्ता दिन थालिएको हो । ७० वर्ष पुगेपछि सरकारको नियमित सामाजिक सुरक्षा भत्तामा सहभागी गराइने वडा कार्यालयले जनाएको छ ।

सरकारको सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुग्दै वडाबाट विशेष व्यवस्था गरेर भत्ता दिन थालेपछि खुसी लागेको र त्याे रकम ओखतीमूलोका लागि खर्च गरिने स्थानीयवासी सन्तलाल तामाङले बताउनुभयो । अर्का एकल पुरुष खुदबहादुर सुनुवारले राज्यले एकल पुरुषका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।  

खिजीदेम्वा ४ का वडाध्यक्ष न्यौपानेले व्यक्तिगत तथा संस्थागत रुपमा जनपक्षीय काम गर्दै आउनुभएको छ । व्यक्तिगत खर्चमा गाउँका गर्भवतीलाई पोषिलो खानेकुरा वितरण, महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा, कोरोनाको संक्रमणबाट बच्न सरसफाइको सन्देशसहित वडाका सबै घरमा हातधुने साबुन वितरणसहितका सहयोग उहाँबाट भएको छ ।

वडा कार्यालयको बजेट र पालिका तथा अन्य निकायसँगको साझेदारीमा युवा तथा महिलाको क्षमता विकास, विद्यार्थी तथा बुहारी छात्रवृत्तिलगायत विभिन्न नयाँ कार्यक्रम खिजीकातीमा सञ्चालन हुँदै आएका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया