बालविवाह रोक्न लुम्बिनी प्रदेशमा १५ दिने अभियान सुरु : १२ वटै जिल्लामा गरी १२ सय बढी कार्यक्रम हुने

 कात्तिक १४, २०७७ शुक्रबार ७:४०:५५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - बालविवाह रोक्न लुम्बिनी प्रदेशमा १५ दिने अभियान सुरु भएको छ ।

अभियान अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा गरी १२ सय बढी कार्यक्रम हुने भएका छन् । बालविवाह नरोकिएको गुनासोपछि प्रदेश प्रहरी कार्यालय दाङले १५ दिने अभियान सुरु गरेको हो । बालविवाह रोक्न र निरुत्साहित गर्न कार्तिक २८ गतेसम्म अभियान सञ्चालन गर्ने प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

नगरपालिका, गाउँपालिका, वडा कार्यालय र विभिन्न संघसंस्थासँग समन्वय गरेर १२ सय ३१ वटा जनचेतनामुलक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

बालविवाहकै कारण शारीरिक तथा मानसिक समस्या, घरेलु हिंसा, सामाजिक, आर्थिक र पारिवारिक समस्यासँगै अपराधिक क्रियाकलाप समेत हुने भएकाले यसको न्यूनीकरणका लागि पहिलो पटक प्रहरीले यो अभियान थालेको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताउनुभयो ।

अभियानलाई सफल बनाउन प्रहरी कार्यालय, बजार र राजमार्गमा ब्यानर तथा प्लेकार्ड राख्ने, ड्युटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने, बढी भीडभाड र हिँडडुल हुने ठाउँमा पोष्टर टाँस्ने, माइकिङ गर्ने, विभिन्न संचार माध्यमबाट अभियानको जानकारी गराउने लगायतका कार्यक्रम राखिएको छ ।

अशिक्षा, बेरोजगारी,  गरिबी, दाइजो, विभेद र माया प्रेमका कारण बालविवाह हुने गरेको प्रहरीले बताएको छ । २० वर्ष नपुग्दै गरिने विवाहलाई नेपालको संविधानले बालविवाह मानेको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया