कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन हुने : प्रतिपरिवार ५० हजार रुपैयाँ अनुदान दिने तयारी

 कात्तिक १४, २०७७ शुक्रबार १२:५६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - कास्कीमा चालु आर्थिक वर्षमा एक हजार ८ सय ७४ खरका छाना विस्थापन हुने भएका छन् ।

आर्थिक रुपमा कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको हो । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत कास्कीका पाँचवटै पालिकामा चालु आर्थिक वर्षभित्रै एक हजार ८ सय ७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रतिपरिवार  ५० हजार रुपैयाँका दरले अनुदान दिने तयारी छ ।

खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत सङ्कलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम समन्वय सहजीकरण समितिका सदस्य एवं जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

कास्कीको निर्र्वाचन क्षेत्र नं १ मा ८ सय ६, निर्वाचन क्षेत्र नं २ मा ५ सय २३ र क्षेत्र नं ३ मा ५ सय ४५ आवास स्वीकृत गरिएको छ । उहाँका अनुसार कार्यक्रम कार्यान्वयनका लागि वडा कार्यालय मार्फत् निवेदन माग गर्ने र वडाहरुबाट सङ्कलित निवेदन कार्यविधि अनुसार लाभग्राही छनोट गर्न सर्वे गरिनेछ ।

सर्भेपछि पालिकाले लक्षित वर्ग तथा परिवारको सूची तयार गरी लाभग्राही छनोटका लागि सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमा पठाउने र इकाइले सुरक्षित नागरिक आवास सहजीकरण समितिमा पेस गरी त्यसले अनुमोदन गर्ने कार्यविधिमा उल्लेख छ ।

माग र सर्वेका आधारमा यस वर्ष छुटेका लाभग्राहीलाई अर्को वर्ष अनुदान रकम उपलव्ध गराइनेछ । सम्झौता लगत्तै जस्तापाता खरिदका लागि पहिलो किस्ता ३० हजार र सम्पन्न भएपछि बाँकी रकम दिइने आयोजनाका प्रमुख झपटबहादुर थापाले बताउनुभयो ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया