भारतबाट फर्केर गाउँमै मौरी पालन : परदेशको भन्दा घरदेशको कमाइमा सन्तुष्टि

 कात्तिक १५, २०७७ शनिबार २०:५०:३४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – झण्डै दुई दशक भारतमा जागिरे जीवन बिताउनुभयो । कमाइ राम्रै थियो । परदेशको कमाइले सजिलै घरखर्च पनि चलेकै थियो ।

परदेशको कमाइले घर–परिवारको गर्जो टार्न सजिलो भएता पनि परदेशमा उहाँलाई घर–परिवारको अभाव पलपलमा खट्किन्थ्यो । परदेशमा जागिरे रहँदै ‘आफ्नै गाउँको पाखा–पखेरीमै गएर केही गर्नुपर्छ’ भन्ने सोच पलाएको थियो । त्यही सोच मनमा साँचेर १८ वर्ष लामो भारत बसाइ छाडेर आफ्नै गाउँ दोर्दी गाउँपालिका १, भारते लामिश्वाँरा फकर्नुभयो, प्रेम अधिकारी ।

‘१८ वर्षसम्म भारतमा काम गरियो । कमाइ राम्रै थियो । तर घरपरिवारको न्यास्रो लाग्ने । परदेशमा मात्रै कत्ति श्रम–पसिना बगाउनु ?,’ उहाँले भन्नुभयो, ‘त्यसैले गाउँको पाखोमा केही उद्यम गर्ने सोचका साथ गाउँ फर्किएँ ।’

मौरी पालनमा तानियो मन !

गाउँ फिर्ता भएपछि उहाँ विभिन्न समयमा कृषि तथा पशुपालनसम्बन्धी तालिममा सहभागी हुँदै जानुभयो । तालिम लिदैँ जाने क्रममा मौरी पालन व्यवसायप्रति उहाँको मन तानियो । २०७० सालमा भारतबाट फर्कनभुएका अधिकारीले २०७२ सालदेखि मौरी पालन व्यवसायमा पाइला चाल्नुभयो ।

सुरुमा १० हजारको लगानीमा एक मौरीघारबाट मौरीपालन व्यवसायमा होमिनुभएका उहाँले अहिले मौरी पालन व्यवसायलाई थप विस्तार गर्दै लैजानुभएको छ ।

मौरीपालन कम समय, श्रम र लगानीमा धेरै आम्दानी लिन सकिने व्यवसाय रहेकाले आफु मौरीपालनमा लागेको उहाँले बताउनुभयो ।

‘सुरुमा एक मौरी घारबाट मौरी पालन सुरु गरेको हुँ । अहिले मौरीपालन व्यवसाय राम्रो भइरहेको छ,’ उहाँले भन्नुभयो ।

उहाँले सञ्चालन गर्नुभएको ‘रुपा मोडल मौरी फर्म’मा अहिले ४० घारमा मौरी पालिएको छ ।

महको माग बढ्दो, कमाइ राम्रो

फर्मबाट यही वर्षको मंसिरसम्म २ सय किलाे मह उत्पादन गर्ने उहाँको लक्ष्य छ । उहाँका अनुसार फर्ममा उत्पादित महले उचित बजार र मूल्य पाएको छ । उत्पादित मह पोखरा, वीरगञ्जसम्म पुग्ने गरेको उहाँले बताउनुभयो ।

‘उत्पादनले बजार नपाउँला भन्ने चिन्ता नै छैन । उत्पादनले उचित बजार र बजार भाउ पाएको छ । बजारमा महको माग बढ्दो छ,’ उहाँले भन्नुभयो ।

उहाँले प्रतिकिलाे ८ सय रुपैयाँमा मह बिक्री गर्दै आउनुभएको छ । गएकाे वर्ष मात्रै फर्मबाट ५० किलाे मह र मौरीसहितका १० घार बिक्री भएको थियो ।

‘गतवर्ष फर्मबाट ४० हजारको मह र ८५ हजारको मौरी घार बिक्री भएको थियो,’ मौरीपालक किसान अधिकारीले भन्नुभयो । आउँदो वर्षको जेठसम्म एक सय मौरी घार पुर्याउने र मौरीसहितको ५० घार बिक्री गर्ने उहाँको योजना रहेको छ । 

‘जेठसम्म फर्मबाटै उत्पादति मौरीबाट एक सय मौरी घार विस्तार गर्ने लक्ष्य छ, उहाँले थप्नुभयो, ‘५० घारमा आफुले मौरी पाल्ने र मौरीसहितको ५० घार बिक्री गर्ने योजना छ ।’

महका बिक्रीका साथै मौरीसहितको घार बिक्रीबाट पनि राम्रो कमाइ हुने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार मौरीसहितको प्रति घार ९ देखी १० हजारसम्म बिक्री हुने गर्दछ । फर्मबाट उत्पादित मह, मौरी घार स्थानीय गाउँघरमै खपत हुने गरेको उहाँ बताउनुहुन्छ ।

‘मौरीसहितको घार बिक्री गर्दा राम्रो कमाइ हुन्छ,’ उहाँले भन्नुभयो, ‘मौरी घार गाउँघरमै खपत हुँदै आएको छ । माग पनि बढ्दो छ ।’ मौरीपालनमा घर–परिवारको पनि उत्तिक्कै साथ मिल्दै आएको छ, उहाँलाई ।

‘घर–परिवारको साथ उस्तै छ । परिवारसंग बसेर मौरीपालन गर्न पाउँदा खुशी छु,’ उहाँले गर्वका साथ भन्नुभयो, ‘परदेशको जागिर, कमाइमा भन्दा स्वदेशको उद्यम, आम्दानीमा सन्तुष्टी मिलेको छ ।’

मौरी पालन : दीर्घकालिन व्यवसाय

बिस्तारै मौरी पालन व्यवसायलाई विस्तार गर्दै निरन्तर रुपमा यसै व्यवसायमा लागिरहने उहाँको योजना रहेको छ ।

‘बिस्तारै उमेर बढ्दो छ । बुढेसकालमा पनि लौरोको सहारामा पनि मौरी पालन व्यवसाय गर्न सकिन्छ,’ ४५ वर्षका मौरी पालक किसान प्रेमले भन्नुभयो, ‘यो दीर्घकालिन पेशा हो । यही व्यवसायलाई निरन्तर अघि बढाइन्छ ।’

मौरी पालन व्यवसायमा सम्बन्धित निकायबाट पनि उहाँले सहयोग पाउँदै आउनुभएको छ । गएकाे वर्ष कृषि ज्ञान केन्द्र, लमजुङबाट २ लाख ५० हजार रुपैयाँ अनुदान पाएको उहाँले बताउनुभयो ।

मौरी पालनका साथै किसान प्रेमले व्यवसायिक बाख्रापालनमा पनि गर्दै आउनुभएको छ । व्यवसायिक कृषि तथा पशुपालन गर्न सके गाउँघरमै बसी मनग्य कमाउन सकिने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया