नाकाबाट पर्याप्त सामान नआउँदा व्यवसायी मारमा

 कात्तिक १८, २०७७ मंगलबार १४:४८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पटक पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गएकाे बिहीबारदेखि फेरि सञ्चालनमा आएकाे छ । तर चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकाले व्यवसायीहरु चिन्तित देखिन्छन् ।  

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ । नयाँ मापदण्डअनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनियाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ ।

एक चिनियाँ कन्टेनरकाे सामानले नेपालतर्फको दुईदेखि तीन कन्टेनर सामान भरिन्छ । यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक पचासभन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन् । तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो । चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा आफूहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताउनुभयो । समान ढिलो आउँदा स्याउ लगायतका खाद्य सामग्री कुहिन थालेकोले नाकालाई निरन्तर खुला गर्नुपर्ने बताउनुभयो । 

नाकालाई पूर्णरुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्णरुपमा बन्द गरेर समुद्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यवसायीहरुले माग गरेका छन् । भन्सार नाका पूर्णरुपमा सञ्चालनमा नआँउदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताउनुभयो । 

अहिलेसम्म स्याउ र केही रेडी मेड कपडा मात्रै अएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारीहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षणको रुपमा रहेकोले थोरै मात्रामा सामान आयात भइरहेको उहाँले बताउनुभयो । उहाँले समान ढुवानी बढाउन आफूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको बताउनुभयो । 

आयातित सामग्री पूर्ण क्षमतामा ल्याउनको लागि आफूहरु मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताउनुभयो । नाका पूर्णरुपमा सञ्चालनमा आएमा दैनिक करोडौँ राजस्व सङ्कलन हुने र रोजगारीको अवसरसमेत वृद्धि हुने भएकोले छिटो भन्दा छिटो नाकालाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया