किरण चेम्जाेङलाई कप्तानी जिम्मा दिइएकाे नेपाली फुटबल टाेली बङ्गलादेश प्रस्थान

 कात्तिक २०, २०७७ बिहीबार १३:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गोलकीपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बङ्गलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बङ्गलादेशको एक हप्ते बसाइमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किने छ । 

लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश जाँदै गर्दा निकै उत्साहित देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा आठ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोलीबाहिर रहेका छन् । यस्तै अन्य सात खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेशनमा छन् ।

नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् । मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाइ कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक हप्ताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक हप्ताकाे बङ्गलादेश बसाइ थप फलदायी हुने अपेक्षा व्यक्त गर्नुभयो । 

नेपालले कात्तिक २८ र मङ्सिर २ गते बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताउनुभयो । यद्यपि महामारीका बीच सुरु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेल निकै चुनौतीपूर्ण भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । 

यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई पनि सहयाेग पुग्ने उहाँले बताउनुभयो । नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूर्ण खेलमा सुखद नतिजा निकाल्नेमा खवास विश्वस्त देखिनुहुन्छ ।  

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पीसीआर परीक्षण गरेको थियो । त्यस परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बङ्गलादेशमा एक हप्ता बिताएपछि मात्रै मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया