घुस मागेकाे भन्दै मुक्तहलियाले हलिया मुक्ति समाजका सदस्यमाथि उजुरी हाले

 साउन २८, २०७५ सोमबार ७:५०:१२ | रासस
unn.prixa.net

 बैतडी - बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् । 

नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा आठ हजार रुपैयाँका दरले रकम मागेको मुक्तहलियाले बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा निवेदन दिँदै उनीहरुले आफूहरुको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् । 

जिल्ला मालपोत कार्यालयमार्फत आफूले पाएको रकममा कोलीले आठ हजारका दरले मागेको मुक्तहलिया वीरभान महरले बताउनुभयो ।

साउन १७ गते ग्वाल्लेकका दुखी रानासँग रु १६ हजारमध्ये रु नौ हजार ५०० घुस मागेपछि घटना बाहिर आएको हो । नौ हजार ५०० रुपैयाँ मागेपछि आफूले प्रहरीमा निवेदन दिएको र वीरभान कोलीले पछि रकम फिर्ता गरेको रानाले बताउनुभयो । 

मुक्तहलियाले दिएको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले यो विषयमा छानबिन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुक्तहलियाबाट पैसा मागेको पाइएमा कानूनअनुसार कारवाही गरिने छ ।’

मुक्तहलियाको रकममा जिल्लाभरि दुरुपयोग हुनसक्ने हलिया मुक्ति समाजका पूर्वकेन्द्रीय अध्यक्ष राजुराम भुलले बताउनुभयो । तर जिल्ला हलियामुक्ति समाजका सदस्य वीरभान कोलीले भने आफूले पैसा नलिएको दाबी गर्नुभयो ।

आफूलाई फसाउन राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाएको उहाँको दाबी छ । 

बैतडीमा गएकाे आर्थिक वर्षमा एक हजार मुक्तहलिया परिवारका लागि मुक्तहलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत रकम आएको थियो ।

सरकारले मुक्तहलियालाई घर निर्माणका लागि रु तीन लाख २५ हजार, जग्गा खरीदका लागि रु दुई लाख र घर मर्मतका लागि रु एक लाख २५ हजारका दरले रकम दिँदै आएको छ । बैतडीमा दुई हजार २२ जना मुक्तहलिया रहेको तथ्याङ्क छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया