प्रधानमन्त्री ओलीको प्रश्न : माइतीघर मण्डला जुलुस गर्न उपयुक्त ठाउँ हो त ?

 साउन २८, २०७५ सोमबार ८:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता,मानअधिकारप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । 

नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आइतबार प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको,पार्टीको कयौं  नेता ,कार्यकर्ता शहीद भएकोले वर्तमान सरकार र नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताउनुभएको छ ।

माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाइएको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । 'माइतीघर मण्डला के आमसभा,जुलुस गर्न उपयुक्त ठाउँ हो त ?' प्रधानमन्त्री ओलीले पश्न गर्नुभयो 'अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?'

उहाँले नेकपा लोकतन्त्रको जन्मदाता भएको र यही पार्टीको सरकार भएका बेला लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म गर्न नसकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो 'यो कुरा मिडियाले पनि बुझन् पर्दछ ।'

प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र नागरिकलाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने बताउनुभयो । केही सञ्चारमाध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो 'अहिले लेखिएका कुरा २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ ।'

प्रधानमन्त्री ओलीले १० वर्षमा नेपालको कायापलट गर्न सकिने दाबी पनि गर्नुभयो ।  कृषिमा आश्रित जनसंख्यालाई दुई वर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौं गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

 प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कडेल लगायत कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिन भएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया