पटाका पड्काउँदा आगलागीसँगै स्वास्थ्यमा गम्भीर खतरा, सचेत रहन विज्ञको सुझाव

 कात्तिक २९, २०७७ शनिबार १३:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तिहारमा पटाका पड्काउँदा स्वास्थ्यमा खतरा हुने भएकाले ध्यान दिन विज्ञले सुझाव दिएका छन् ।

तिहारको बेलामा पटाका पड्काउँदा र रकेट, झिरझिरे, भुइँचम्पा जस्ता आतिसबाजी गर्दा स्वास्थ्यलाई गम्भीर असर पुर्याउने भन्दै विज्ञले सचेत रहन सुझाव दिएका हुन् । पटाका पड्काउँदा त्यसबाट निस्कने हानिकारक रसायन र ठूलो आवाजले आँखा, कानसहित विभिन्न स्वास्थ्य समस्या हुन सक्ने जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले बताउनुभयो ।

पटाका पड्काउँदा निस्कने ठूलो आवाजका कारण कान नसुन्ने, केमिकलका कारण आँखामा समस्या हुने, निमोनिया, श्वासप्रश्वासमा समस्या, मुटुमा र फोक्सोमा समस्या हुने र छालामा एलर्जी समेत हुने गर्छ ।

पटाकामा विष्फोटको स्वरले मात्र नभएर यसबाट निस्किने विभिन्न विषाक्त ग्यास, रसायन, प्रदूषण र सूक्ष्म कणहरूले मुटुको रक्तनलीमा अवरोध भएका वा हृदयघात भएकाहरूमा अचानक समस्या उत्पन्न हुन सक्छ । पटाका पड्काइसकेपछि निस्कने रसायन हानिकारक हुने र त्यसले मानव स्वास्थ्यका साथै वातावरणमा पनि असर गर्ने उहाँको भनाइ छ ।

रमाइलो गर्न भन्दै पटाका नपड्काउन र बालबालिकालाई पनि नदिन अभिभावकलाई जनस्वास्थ्य तथा वातावरण वैज्ञानिक शाहको सुझाव छ । पटाका पड्काउँदा सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता विषाक्त ग्यास निस्कने गर्छ । यस्तै पटाकाबाट अचानक निस्किने ठूलो र तीव्र आवाजले मुटुको धड्कनसम्बन्धी रोग भएकाहरूको समस्या झन् बढाउन सक्ने उहाँले बताउनुभयो ।

पटाकाबाट निस्किने विषाक्त ग्यास र रसायनले गर्दा दम रोगी र मुटु रोगीहरूको समस्या गुणात्मक रुपमा बढाउन सक्छ । रक्तचापका बिरामी र विशेष गरी अनियन्त्रित रक्तचाप भएकाहरूमा ठूलो र कडा आवाजले गर्दा असजिलो अनुभव हुने र अचानक मुटुको समस्या बल्झिन सक्नेतर्फ सचेत रहन पनि शाहले सुझाव दिनुभएको छ ।

यसका साथै पटाका पड्काउँदा त्यसबाट निस्कने आगोले शरीर जल्ने तथा आगलागीका घटना पनि हुने गरेका छन् ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया