लगातारको वर्षाले बस्ती डुबानमा, भारतले बाँधको ढोका खोलेपछि झन जोखिम

 साउन २८, २०७५ सोमबार ११:३९:५५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - शनिबार रातिदेखि परेको पानीका कारण महाकाली नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । 

महाकाली र जोगबुढा नदीमा पानीको बहाव बढेपछि महाकाली नगरपालिकाको ८, ९ र १० नम्बर वडाका बस्तीहरु डुबानमा परेका हुन् । 

महाकाली र जोगबुढा नदीमा पानीको बहाव बढेपछि ८, ९ र १० नम्बर वडाका शान्तिटोल, गिरी टोल, गुरुङ टोल, कुतियाकबर लगायतका बस्तीहरु डुवानमा परेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभयो । 

बस्ती नै डुबानमा परेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । उनीहरुलाई प्रहरी, सशस्त्र प्रहरी लगायतको उद्धार टोलीको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ । 

भारतीय पक्षले जोगबुढा नदीमा पानी छोडेपछि बस्ती डुवानमा परेको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताउनुभयो । 

बाढीको पीडितको गुनासो

यसअघि महाकाली र जोगबुढा नदीमा आएको बाढीकै कारण १० नम्बर वडाको गाउँ नै विस्थापित भएको छ । तर, बाढी नियन्त्रणका लागि सरोकारवाला पक्षले बेवास्ता गरेको पीडितको गुनासो छ । 

बाढीले विस्थापित गरेपछि अर्काको जग्गामा बस्नु परेको महाकाली नगरपालिका १० का स्थानीय माया सुनारले बताउनुभयो । सरकारले राहतको व्यवस्था गरे पनि आफूहरुले अहिलेसम्म कुनै राहत नपाएको उहाँको दुखेसो छ ।

बाढीले वर्षेनि खेत कटान गर्ने गरेपनि आफूहरुले कुनै किसिमको राहत र क्षतिपूर्ति नपाएको महाकाली नगरपालिका ८ का पदमा सुनारको दुखेसो छ ।

यस्तै, वर्षेनि बाढीले खेतीबाली नोक्सानी गर्नुका साथै डुवानमा परी घर समेत डुब्दा पनि आफूहरुले कुनै राहत नपाएको १० का तिलक शाहीले बताउनुभयो ।

राज्यले वास्तविक पीडितलाई नभएर अरुलाई नै राहत दिदा आफूहरु मर्कामा परेको उहाँ बताउनुहुन्छ । बाढीले अन्नबाली नै बगाएपछि वर्षभरी खान समेत नपुग्ने उनीहरुको गुनासो छ । 

भारतले बाँधको ढोका खोल्यो 

भारतीय पक्षले सोमबार धार्चुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोलेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्मका लागि धौलीगंगा परियोजनाको बाँधका ढोकाहरु खोलिएको छ । धौलीगंगाको बाँधका ढोकाहरु खोलेसँगै त्यसको प्रभाव कञ्चनपुरमा पनि पर्ने देखिन्छ । 

पानी पर्ने क्रम नरोकिएको र भारतीय पक्षले बाँधका ढोका खोलेकाले नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ । नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

बाँधको स्पर भत्कायो 

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेसँगै बाढीले तटबन्धको स्पर बगाएको छ ।

बाढीले माहाकाली नगरपालिका १ स्थित बैलबन्द सामुदायिक वन नजिक करिब १० मिटर स्पर बगाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताउनुभयो । 

उहाँका अनुसार नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको र त्यसले ठूलो क्षति हुन सक्ने देखिएको छ । तटबन्ध भत्किएको ठाउँमा अहिले तारजाली भर्ने काम भइरहेको उहाँले बताउनुभयो । 

यस ठाउँमा यसअघि २०७० सालको बाढीले पनि बाँध भत्काएको थियो । भारतीय पक्षले समेत धार्चुलाको धौलीगंगाको पानी महाकाली नदीमा छोडेपछि थप जोखिम देखिएको छ । 

महाकाली नदीको बाढीले गएको साउन १३ गते भीमदत्त नगरपालिका ११ महाकाली टोलमा पनि झण्डै १० मिटर तटबन्ध कटान गर्नुका साथै लन्चिङ बगाएको थियो । 

पुलमा चारपाङ्ग्रे गाडी रोक 

महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले  सोमबार बिहानैदेखि चारपाङ्ग्रे गाडीको आवागमनमा रोक लगाएको छ । 

पछिल्लोे मापन अनुसार महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ५ हजार क्यूसेक रहेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक करविर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ । 

सामान्यतया नदीमा पानीको बहाव १ लाख क्यूसेक पुगेपछि पुलको सुरक्षालाई मध्यनजर गर्दै भारतीय पक्षले चारपाङ्ग्रे गाडीको आवागमनमा रोक लगाउने गरेको छ । 

पहाडी जिल्लामा पानीको सतह खतरामुक्त 

महाकाली नदीको बाढीको पूर्वामानका लागि दार्चुला र डडेल्धुरामा पानीको सतह मापन गर्ने गरिन्छ । 

जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका अनुसार दार्चुलामा पानीको सतह सामान्य रहेको छ भने डडेल्धुराको परी गाउँमा पानीको सतह ५ मिटर नाघेको छ ।

र्चुलामा बिहान पानीको सतह ३ मिटर थियो । दार्चुलास्थित जलपापन केन्द्रको पछिल्लो अपडेट नभएको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ । सामान्यतया दार्चुलाको पानी कञ्चनपुर पुग्न ७ घण्टा लाग्ने गर्दछ । 

डडेल्धुराको परी गाउँमा भने पानीको सहत ५ मिटर रहेको छ । डडेल्धुरामा ५ दशमलव ८० सेन्टीमिटर चेतावनी र ७ मिटर नाघे खतरा मान्ने गरिन्छ । 

महाकाली नदीमा पानीको वहाव बढ्ने क्रम जारी रहेपनि भारतले छोडेको पानीको बहावको मापन डडेल्धुरा पुगेपछि मात्रै थाहा हुने केन्द्रको भनाई छ । 

 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया