अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै - सरकारले कोभिड-१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ ।
कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्ट्रेलियालगायतका देशलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।
कोभिड-१९ विरुद्धको खोप (भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो । राज्यको स्रोत र सामर्थ्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो, 'ठूलो सङ्ख्यामा होम आइसोलेशनमा बसेका बिरामीलाई घरघरमा स्वास्थ्य सेवा पुर्याउनु र रेखदेख गर्नु अहिलेको मुख्य चुनौती हो ।'
कोभिड-१९ बाट देशमा अहिलेसम्म एक हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने दुई लाख २४ हजार ७८ जना सङ्क्रमित भइसकेका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८५९ छ ।
८० प्रतिशतलाई लक्षण देखिन्न
सङ्क्रमित मध्ये ८० प्रतिशतभन्दा बढीलाई लक्षण नदेखिने कारणले केहीलाई यो रोग केही होइन भन्ने मनोवैज्ञानिक भ्रम परेको चिकित्सक बताउँछन । सक्रिय सङ्क्रमितमध्ये अहिले ८२ प्रतिशत नागरिक होम आइसोलेशनमा छन्।
कोभिड-१९ को नेपालमा अहिलेसम्म १६ लाख ५० हजारभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ । अहिले देशका ७६ स्थानमा परीक्षणको व्यवस्था गरिएको छ । सरकारले औषधिको सहज आपूर्तिका लागि आयात गर्न आवश्यक ऐन कानूनलाई परिमार्जन गरिसकेको जानकारी दिएको छ ।
धेरैभन्दा धेरै अस्पतालमा अक्सिजनसहित शैय्या व्यवस्थापन र सहजरूपमा औषधि आपूर्ति गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । खोप उत्पादन हुनासाथ सरकार-सरकारबीचको सहमति तथा विश्व स्वास्थ्य सङ्गठनलगायतका सङ्घसंस्थाका माध्यमबाट समेत ल्याउने योजना बनाइएको छ ।
कोरोनाले विश्वका शक्ति र सामर्थ्य भएका देशलाई समेत तहसनहस बनाएका जनाउँदै सरकारले निःसन्देह महामारी विरुद्ध सबै लिङ्ग, जाति, क्षेत्र भूगोल र समुदाय एकाकार भएर अभियानमा जुट्न पटक-पटक आह्वान गरेको छ ।
२० प्रतिशतलाई खोप सुनिश्चित
केही ढिलो भए पनि कुल जनसङ्ख्याको २० प्रतिशतलाई खोप प्राप्त गर्ने सुनिश्चितता भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'अरु देशका नागरिकले खोप प्रयोग गर्दा हाम्रा नागरिकले पनि प्रयोग गर्न सकुन् भनेर सरकार त्यो काममा जुटिरहेको छ ।'
अहिलेसम्म १२ वर्षमुनि उमेरका बच्चाका लागि खोप बनेको छैन । यस उमेर समूहभन्दा माथिका लागि लगाउने भनिएको भ्याक्सिनको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्वका विभिन्न देशमा कोभिड-१९ विरुद्ध १४० प्रकारका खोप बनाउने प्रयास भए पनि अहिलेसम्म १० वटा मात्रै तेस्रो चरणको परीक्षणमा पुगेका हुन् ।
तेस्रो चरणमा रहेका मध्ये कुन खोप पहिला आउँछ भनेर अहिले नै निर्क्योल गर्ने अवस्थामा नरहेको बताउँदै प्रवक्ता गौतमले भन्नुभयो, 'अहिलेसम्मको खोपको परीक्षणको नतिजालाई आधार मान्दा आगामी मार्च महिनासम्ममा खोप आउँछ कि भन्ने अनुमान गरिएको छ ।”
खोपलाई ६० अर्ब
यद्यपि यस खोपको प्रभाव, मूल्य र आउने सुनिश्चितता अझै एकिन भइसकेको छैन । गाभी-कोभ्याक्स् नामक संस्थाले नेपालको जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने लागत मूल्यको २० प्रतिशत सहुलियत मूल्यमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने वचन दिइसकेको छ । याे खोपका लागि करिब ६० अर्ब रूपैयाँ लाग्ने भएकाले रकमको व्यवस्थापन पनि चुनौतीकै रूपमा छ।
नेपालमा याे खोप प्राप्त भइसकेपछि सबैभन्दा पहिला कसलाई दिने भनी प्राथमिकता निर्धारण गर्नुपर्ने छ । तथापि स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा रहेर काम गर्ने र ५५ वर्ष उमेर समूहमाथिलाई प्राथमिकता दिनुपर्ने एकखाले सुझाव प्राप्त भएको जानकारी दिइएको छ । सम्भावना, प्रभावकारी र देशको क्षमताका आधारमा ती खोपको छनोट हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
दोहोर्याएर भएको विरलै
विश्वमै अहिलेसम्म कोभिड-१९ को उपचार नभएको, एकै व्यक्तिलाई दोहोर्याएर सङ्क्रमण भएको घटना विरलै रहेको तथा जुन देशका राजनीतिक दल र जनप्रतिनिधि प्रतिकार्यको अभियानमा जुटेका छन् ती देशमा सङ्क्रमणको असर निकै कम रहेको मन्त्रालयको जिकिर छ ।
अत्यावश्यक कामबाहेक घरबाट ननिस्कने, निस्किन परे पनि दुई मिटरको भौतिक दूरी कायम गर्ने, नियमित हात धुने तथा स्यानिटाइजर र मास्कको प्रयोग गर्नाले कोरोनाको जोखिमबाट सहजै बच्न सकिने पक्षमा ध्यान दिन मन्त्रालयले समाजका सबै तहतप्कालाई आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।