क्यानको निलम्बनको फुकुवाका लागि काठमाडौंका आईसीसी मनिटरिङ कमिटीको बैठक सुरु

 साउन २८, २०७५ सोमबार २०:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – क्रिकेट विवाद समाधान गरी नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बनाएका मनिटरिङ कमिटीको बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
 
काठमाडौंको सोल्टी होटलमा जारी कमिटीको बैठक मंगलबारसम्म चल्नेछ । बैठकले क्यानको सुल्झाउन बाँकी विवादका बारेमा अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ ।
 
मूख्य गरी जिल्ला संघहरुको अधिवेशनबारेको असन्तुष्टिमा बैठक केन्द्रित रहनेछ । कमिटीले साउन १० गते सार्वजनिक सूचना जारी गरी जिल्ला संघको अधिवेशनबारेको प्रमाणिकरण पेश गर्न भनेको थियो । निर्वाचित क्यानले जिल्लाको अधिवेशन स्वीकार गर्न माग गरिरहेका बेला आईसीसीले भने गत बैशाखमा संशोधन गरिएको बिधानअनुरुपको निर्वाचनलाई मात्र मान्यता दिने बताएको छ ।
 
यी लगायतका अन्य विवाद समाधान गरी क्यान निलम्बनको फुकुवाका लागि सकारात्मक निर्णय लिने कमिटीका सदस्य एलबी क्षेत्रीले जानकारी दिए । आईसीसीले बनाएको मोनिटरिङ कमिटीमा राष्ट्रिय खेलकुद परिषदका एक, निलम्बित क्यानका एक र आईसीसीका तीनजना प्रतिनिधि छन् । राखेपबाट एलबी क्षेत्री, निलम्बित क्यानबाट ठाकुर प्रताप थापा (रइस) र आईसीसीबाट अमर शेख, मोहम्मद अली र नितिश कोठारी छन् । 

निर्वाचित क्यानले आईसीसीको म्याण्डेटअनुसार विधान संशोधन गरेपछि बाँकी विवाद समाधानका लागि आईसीसीले मनिटरिङ कमिटी गठन गरेको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया