एशिया कप छनोटका लागि नेपाली क्रिकेट टोली आजदेखि बन्द प्रशिक्षणमा

 साउन २९, २०७५ मंगलबार ८:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - भदौको तेस्रो साता मलेशियामा हुने एशिया कप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली आजदेखि बन्द प्रशिक्षणमा जुट्दै छ ।

बिहीबार घोषणा भएको १९ सदस्यीय प्रारम्भिक टोली बन्द प्रशिक्षणमा रहनेछन् ।

मलेसियामा हुने एसिया कप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले बिहिबार १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

प्रशिक्षणमा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्लसहित बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी रहेका छन् ।

 

त्यस्तै आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कार्मी, सुवास खकुरेल, सुनिल धमाला र सुशन भारी टोलीमा समेटिएका छन् ।

१९ खेलाडीबाट एसिया कप छनोटका लागि १५ खेलाडीको अन्तिम नामवाली घोषणा हुनेछ । एसिया कप छनोट भदौ १३ देखि २१ गतेसम्म हुनेछ । त्यसअघि टोलीले अन्तिम तयारी र तीन अभ्यास खेलका लागि श्रीलंका भ्रमण गर्ने छ ।

क्रिकेट टोलीलाई ब्याटिङ प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व देसाई समेत नेपाल आउने भएका छन् ।

छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ । त्यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्दैछ ।

राउण्ड रोबिनपछि शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । छनोटको विजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । उपाधि विजेता टोली भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट भइ जाने एक टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछ । एसिया कप भदौ ३० गतेबाट असोज १० गतेसम्म युएइमा हुँदैछ ।

 

याे पनि पढ्नुहाेस्

ओडीआई मान्यता पाएपछि नेपाली प्रशिक्षक जगत टमाटा के भन्छन् ?

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया