चेतनामुलक सन्देशका साथ मनाइयो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

 मंसिर २५, २०७७ बिहीबार १३:५७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज सकिएको छ । गएको वर्ष जस्तै भव्य र्याली सभा समारोह नभए पनि महिलाका क्षेत्रमा काम गर्ने संघसस्थाले सचेतनामुलक सन्देशका साथ यो अभियान मनाएका हुन्।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ नोभेम्बर २५ अथवा मंसिर १० गतेदेखि सुरु भएको यो अभियान डिसेम्बर १० अर्थात मंसिर २५ गते आज सकिँदैछ ।

दैलेखमा १६ दिनमा १६ कार्यक्रम

महिला र बालिकामाथि हुने हिंसाविरुद्ध अभियान काम गर्दै आएको एभरेष्ट क्लब दैलेखले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाएको छ । नोभेम्बर २५ तारिख जिल्लामा रहेका सरकारी निकायसँग समन्वय गर्दै दिप प्रज्वलन गरी उद्घाटन गरेको अभियानमा जिल्लाको नौमुले गाउँपालिका र आठबिस नगरपालिकामा कार्यक्रम गरिएको हो ।

कार्यक्रम अन्तर्गत ४५ वटै सामुदायिक छलफल केन्द्रमा लैङ्गिक समानताका विषयमा अन्तर्क्रिया भएको छ । यस्तै छलफल केन्द्रमा सहभागीका ११ वर्षदेखि २० वर्षमुनिका बालबालिका तथा किशोरकिशोरीसँग बालविवाहसम्बन्धी छलफल भएको छ ।

सामुदायिक छलफल केन्द्रका सहभागीको सिकाइ आदानप्रदानसँगै सामुदायिक छलफल केन्द्रमा सहभागी भएर उद्यमी बनेका महिला र उद्यमी बन्न चाहने महिलाहरुको अनुभव आदानप्रदान पनि भएको कार्यक्रम संयोजक मिना थापाले बताउनुभयो ।

यस्तै सामुदायिक छलफल केन्द्रमा सहभागी महिलाहरुबीच  लैङ्गिक हिंसाका विषयमा वक्तृत्वकला कार्यक्रम गर्दै अभियान समापन गरेको छ । समाजमा गरेका यस्ता चेतनामुलक कार्यक्रमले महिला हिंसा र बाल विवाहमा कमी आउने अपेक्षा गरिएको कार्यक्रम संयोजक थापाले बताउनुभयो ।

बाँकेमा र्यालीसहित चेतनामुलक कार्यक्रम

बाँकेमा रहेको स्याक नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरेको छ । नेपालगञ्ज बजारका विभिन्न चोकचोकमा महिला हिंसाविरुद्धका पर्चा पम्पलेट बितरण गरेर अभियानको सुरुवात भएकोे थियो । 

जिल्लामा महिला र बालिकामाथि हुने हिंसा अन्त्यका लागि काम गर्दै आएको स्याक नेपालले आफ्नो कार्यक्षेत्र बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकासँग समन्वय गर्दै कार्यक्रम गरेको हो । अभियान अन्तर्गत डुडुवा र राप्तीसोनारीमा रहेका ४५ वटा सामुदायिक छलफल केन्द्रमा चम्चा दौड प्रतियोगिता, सिकाइ आदानप्रदान र वक्तृत्वकला प्रतियोगिता गरिएको कार्यक्रम संयोजक रामकुमारी चौधरीले बताउनुभयो ।

यस्तै पालिका र वडामा रहेका सरोकारवालाहरुसँग लैङ्गिकताका सवालमा अन्तर्क्रिया कार्यक्रमसँगै स्थानीय सञ्चारमाध्यममा चेतनामुलक सन्देश प्रशारण गर्दै १६ दिने अभियान सम्पन्न गरेको हो ।

रौतहटमा महिला हिंसा नगर्ने प्रतिबद्धतासहित हस्ताक्षर संकलन                      

महिला र बालिकामाथि हुने हिंसा अन्त्यका लागि अभियान सञ्चालन गर्दै ग्रामिण विकास केन्द्र (आरडीसी) रौतहटले पनि १६ दिने अभियान मनाएको छ ।  जिल्लाको परोहा नगरपालिका र इशनाथ नगरपालिकाका विभिन्न वडामा रहेका सामुदायिक छलफल केन्द्र र मदरसामा कार्यक्रम गरिएको कार्यक्रम संयोजक धर्मेन्द्रकुमार साहले बताउनुभयो ।

यस्तै आफू पनि हिंसा नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धताका साथ दुवै नगरपालिकाका प्रमुख, उपप्रमुख र कर्मचारीको हस्ताक्षर संकलन पनि गरिएको छ ।

यही अवसरमा सहजकर्ताहरुले पालिकामा ज्ञापनपत्र बुझाएका छन् । महिला र बालिकाको क्षेत्रमा पालिकाले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, महिलाहरुको लागि आयआर्जनका कार्यक्रम ल्याउनुपर्ने र समाजमा भइरहेका बालविवाह रोक्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको हो । 

यस्तै सामाजिक चेतना विकास संघ (साडा) बैतडीले  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाएको छ । जिल्लामा रहेका सरोकारवालासँग समन्वय गर्दै महिलामाथि हुने हिंसा अन्त्य गर्न कसको भूमिका के हुने भन्ने विषयमा अन्तर्क्रिया भएको छ । जिल्लाको पुर्चौडी, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा रहेका सामुदायिक छलफल केन्द्रमा वक्तृत्वकला प्रतियोगिता पनि भएको छ ।

(खुल्ला धरती, खुल्ला आकाशबाट)


 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया