पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा छरियो शतबीज

 मंसिर २८, २०७७ आइतबार १२:५०:१८ | रासस
unn.prixa.net

काठमाण्डाै  - मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ ।

त्रयोदशीको रातभर शनिबार भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा महादीपदान गरेका थिए । पशुपति क्षेत्रमा भने यस वर्ष महादीपदान गर्न निषेध गरिएको थियो । त्रयोदशीदेखि नै लाखौँ भक्तजन आउने पशुपति क्षेत्र कोरोना महामारीका कारण यस वर्ष शनिबार राति भने सुनसान प्राय देखिएको थियो ।

त्रयोदशीको राति बत्ती बाल्न निषेध गरिएको पशुपति क्षेत्रका मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा आज शतबीज छर्न भने खुला गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

यस वर्ष पशुपति क्षेत्रमा महादीपदान नगर्न अनुरोध गरिएको उहाँले सुनाउनुभयो । पशुपतिमा दीपदान गर्न निषेध गरिएको काठमाण्डाैका अन्य शिवालयमा भने भक्तजन बत्ती बाल्न पुगेका थिए । कतिले घरमै पाञ्चायन पूजा गरिएको स्थानमा रातभर बत्ती बाली बिहान पशुपति क्षेत्र वा अन्य शिवालयमा गई शतबीज छरेका छन् ।

आज शतबीज छर्न पनि पशुपति मन्दिरको मुख्य क्षेत्र कैलाश डाँडामा निषेध गरिएको पनि कोषले जनाएको छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । यस वर्ष धेरै स्थानमा शतबीज छर्न पनि निषेध गरिएकाले विगत वर्षमा भन्दा न्यून भक्तजन बिहान पशुपति क्षेत्र पुगेका थिए ।

शतबीज भनिए पनि अहिले सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ । 

 'भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्य क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ', उहाँले भन्नुभयो । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाएर त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ । 

 मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीयरुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने समितिका अध्यक्ष गौतमले सुनाउनुभयो । ‘धर्मसिन्धु’ नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । 

यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ ।
 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया