उखु किसान आज पनि प्रदर्शनमा : यो वर्ष सरकारले झुक्याउन नसक्ने किसानको भनाइ

 मंसिर २९, २०७७ सोमबार ८:९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उखु किसानले आज दोस्रो दिन पनि धर्ना र प्रदर्शन गर्ने भएका छन् ।

किसानहरुले हिजोदेखि उखु बेचेको रकम उठाइदिन सरकारसँग माग गर्दै काठमाण्डौमा आन्दोलन थालेका हुन् ।  आज पनि धर्ना र प्रदर्शनको कार्यक्रम निरन्तर रहने संघर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन गरिरहने आन्दोलनरत उखु किसानले बताएका छन् । गएको वर्ष सरकारले छिट्टै भुक्तानी दिलाउने भनेर आश्वासन मात्र दिएकाले यो वर्ष पुरै रकम नपाएसम्म आन्दोलन गरिरहने उनीहरुको अडान छ ।

गएको वर्ष जस्तो यो वर्ष सरकारले झुक्याउन नसक्ने सर्लाहीका उखु किसान राजेश यादवले बताउनुभयो । सर्लाहीका किसानले सर्लाहीका दुईवटा चिनी उद्योगसँग ३६ करोड रुपैयाँभन्दा धेरै लिन बाँकी भएको यादवको दाबी छ । तर चिनी उद्योगीले थोरै रकम मात्र दिन बाँकी भएको दाबी गर्दै आएका छन् ।

उद्योगीले सरकारले तोकेभन्दा सस्तो मूल्यमा हिसाब गरेकाले थोरै रकम मात्र किसानलाई दिन बाँकी भएको बताउने गरेका किसानको गुनासो छ । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ तोकेको छ । यो मुल्य निक्कै कम भएको उखु उत्पादक किसान संघ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो । चिनीको मूल्य बढे पनि किसानले भने सस्तो मूल्यमा उखु बेच्नुपरेको उहाँको भनाइ छ ।

संघर्ष समितिका संयोजक मिश्रका अनुसार देशभरबाट उखु किसानले ९० करोड रुपैयाँ चिनी मिलबाट पाउनु पर्नेछ । सर्लाहीमा मात्रै अन्नपूर्ण चिनी मिलको ३० करोड र महालक्ष्मी सुगर मिलको ६ करोड रुपैयाँ किसानलाई दिन बाँकी रहेको मिश्रले बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने उखु मिलहरुले किसानलाई ५५ करोडभन्दा बढी दिनुपर्ने बताएको छ ।

गएको पुसमा भएको समझदारीपछि केही प्रगति भएकाले बक्यौता घटेको मन्त्रालयको दाबी छ । पोहोरको आन्दोलनपछि केही उद्योगले किसानको भुक्तानी दिएपनि केही उद्योगले भने अझै भुक्तानी दिन बाँकी छ ।
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया