‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु

 साउन ३०, २०७५ बुधबार १६:७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु भएको छ ।

समितिको बुधबार बसेको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु गरिएको हो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका सांसदहरुले विधेयकमा प्रस्तावित राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाएका छन् ।

नेपाली कांगे्रेसका सांसदद्वय गगन थापा र दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाउनु भएको हो । पूर्व स्वास्थ्यमन्त्री समेत रहनु भएका कांग्रेस सांसद थापाले समग्र स्वास्थ्य क्षेत्रलाई समावेश हुनेगरी आयोगको क्षेत्राधिकार तोक्नुपर्ने माग पनि सरकारसँग गर्नुभयो ।

उहाँले विधेयकमा आयोगको क्षेत्राधिकार भित्र उच्च शिक्षा अन्तरगतको स्वास्थ्य शिक्षा मात्रै समावेश गरिएको उल्लेख गर्दै त्यसमा सहमत हुन नसकेपछि आफूले संशोधन प्रस्ताव हाल्नु परेको पनि स्पष्ट पार्नुभयो ।

कांग्रेसका अर्का सांसद बडुले आयोगमा सदस्य मनोनित गर्ने अधिकार अध्यक्षलाई दिन नहुने माग गर्नुभयो । सदस्य मनोनयन आयोगको निर्णय अनुसार हुने व्यवस्था गर्न आफूले विधेयकमा संशोधन दर्ता गरेको उहाँको भनाई थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले भने राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर ल्याइएको विधेयक भन्दै सरकारको बचाऊ गरेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले विधेयकले राष्ट्रिय आवश्यक्तालाई सम्बोधन गरेको उल्लेख गर्दै त्यसलाई खुला छलफल गरेर अघि बढाउन उपयुक्त हुने तर्क गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीकी अर्की सांसद रेखा शर्माले पनि विधेयकलाई खुला छलफल गरी टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी चिकित्सकहरुलाई निजी क्षेत्रमा काम गर्न नपाउने व्यवस्था पनि विधेयकमा गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार सरकारले अघि बढाएको विधेयकमा केदारभक्त माथेमा आयोगको भावनालाई पनि समेटनुपर्नेमा जोड दिएका थिए । 

बैठकमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमा व्यापक छलफल गरेर आवश्यक निर्णय लिन समिति समक्ष आग्रह गर्नु भएको थियो ।

समितिको अर्को बैठक आउँदो आइतबार बिहान ८ बजेका लागि बोलाइएको छ । बैठकमा विधेयकमाथिको छलफललाई निरन्तरता दिइने समितिका जेष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया