काष्ठमण्डप पुनर्निर्माणमा दबाव, विवाद र जनसहभागिता

 साउन ३१, २०७५ बिहिवार ९:४५:५१ | कुमार रञ्जित

२०७२ वैशाख १२ गते देशमा विनाशकारी भूकम्प गएपछि क्षतिग्रस्त सयौं सांस्कृतिक वास्तु सम्पदा संरचनामध्ये केहीको पुनर्निर्माण सम्पन्न भैसकेको छ र केहीको हुँदैछ भने कतिपय हुने क्रममा छ । तर काठमाडौं नामांकरणको प्रारम्भ बिन्दू मानिने काठ–प्रधान वास्तु संरचना “काष्ठमण्डप” पुनर्निर्माण गर्ने कुरामा दबाव, विवाद र जनसहभागिता अभूतपूर्व छ । 

धरहरा नबनाए पनि हुने जस्ता तर्क पनि सुनिन थालिएको छ । रानीपोखरी बन्दाबन्दै कंक्रिट प्रयोगका कारण कामै रोक्नु पर्‍यो । तर काष्ठमण्डपको जग मुनिदेखि नै दबाव, विवाद र जनसहभागिता कायम छ, जसको अन्त्य हुने देखिन्न ।

नेपालमा अहिलेसम्म भेटिएका वास्तु संरचनामध्ये सबैभन्दा पुरानो भनेर बेलायती डरहम विश्वविद्यालयका अन्वेषकले समेत प्रमाणित गरिदिएकाले हुनसक्दछ, काष्ठमण्डपको जमिन मुनिदेखि नै जनमानसको दबाव, विवाद र सहभागिता दिनप्रतिदिन बढिरहेको छ । त्यसलाई नभेटिएको तर विभिन्न दस्तावेजहरुमा वर्णन रहेको “कैलाशकूट भवन” प्रतिको चासोले पनि उछिन्न सकेको छैन ।
 
त्यसको कारण धेरै हुनसक्ला, तर सबैभन्दा ठूलो कारण हो– काष्ठमण्डप महानगरको वर्णन रहेको थुप्रै ऐतिहासिक दस्तावेजहरु, जुन जनमानसले प्रत्यक्ष देख्न र सुन्न पाइरहेका छन् । काठमाडौंका थुप्रै घरमा “काष्ठमण्डप महानगरे...” भन्दै पढिने पुराना लिखित दस्तावेजहरु भेटिन्छन् ।

काठमाडौंवासीहरु आफ्ना घरमा बस्नै डराएर खुला मैदान र खोला किनारका समय सुरक्षित हुन खोजिरहेका बेला विनाशकारी भूकम्पको डेढ महिनापछि २०७२ असार १ गते सर्वप्रथम काष्ठमण्डप पुनर्निर्माणका लागि आवाज उठाउन जनस्तरबाटै अभियान शुरु गरिएको हो ।

अभियान अगाडि बढ्दै जाँदा त्यसका पदाधिकारीहरु आफैंले काष्ठमण्डप पुनर्निर्माण गर्नेसम्मको सपना देख्न थालेका थिए । त्यसको खास कारण तात्कालीन समयमा देशमा जिम्मेवार निर्वाचित जनप्रतिनिधिमूलक सरकार नहुनु र सम्बन्धित निकायका पदाधिकारीहरुले नागरिकका भावना बुझेर प्राथमिकता निर्धारण गर्न नसक्नु थियो । फलस्वरुप पुनर्निर्माणको खाका नै नकोर्दै पूजाआजा गरी चर्चामा आउने काम गरियो ।

वास्तवमा ४५ वर्षअघि पञ्चायतकालमै पुरातत्व विभागका तत्कालीन महानिर्देशक रमेशजंग थापाको नेतृत्वमा जीर्णोद्धार गर्दा बनाइएको नक्सा एउटै मात्रै स्वीकृत आधिकारिक नक्सा उपलब्ध छ काष्ठमण्डपको । जुन सो विभागको मुखपत्र “प्राचीन नेपाल” मा प्रकाशित छ । सो नक्सा काठमाडौं महानगरपालिका, वडा नम्बर २३ अन्तर्गत चिकंमुगल माय्बिलि चोकया हरिरत्न रञ्जितकारले कोर्नुभएको थियो ।
 
रमेशजंग थापा अवकाशपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा निर्वाचन आयोगका आयुक्त भएर कार्यकाल समाप्तीपछि अवकाश जीवन बिताउँदै हुनुहुन्छ । हरिरत्न हिजोआज सांस्कृतिक सम्पदा निर्माणमा चर्चित “काठमाडौं भ्याली पिजर्भेशन ट्रष्ट” का नेपाल निर्देशक डा. रोहित रञ्जितकारका बुबा हुनुहुन्छ । उहाँ पनि अवकाश जीवनको अनुभव गरिरहनुभएको छ । अग्रणी पुस्ताको अनुभवबाट शिक्षा लिने हो भने रमेशजंग र हरिरत्नहरुका अनुभवले अहिले शुरु हुनै लागेको काष्ठमण्डप पुनर्निर्माणलाई अमूल्य सुझाव प्राप्त हुन सक्ने कुरामा शंकै छैन ।

देशमा तीन तहको निर्वाचन सम्पन्न भएपछि काष्ठमण्डप अवस्थित रहेको काठमाडौंको ८ नम्बर क्षेत्र क क्षेत्रबाट निर्वाचित सभासद राजेश शाक्यको नेतृत्वमा पुनर्निर्माण गर्न पहल गरियो । नागरिकका दबाव, विवाद र सहभागिताबीच आवश्यक खाका नै पूरा नगरी पुनर्निर्माण शुभारम्भ भन्दै पूजा गर्ने कार्य फेरि शुरु गरियो । समिति अगाडि सर्दा अभियान पछि हट्न पुग्यो । तर अभियानले काष्ठमण्डप पुनर्निर्माणमा साथ र सहयोग अटुट रुपमा दिई नै रहनुपर्ने देखिन्छ । किनकि काष्ठमण्डप पुनर्निर्माणको महत्व नागरिकमा स्थापित अभियानले नै गरेको हो भन्नेमा आम धारणा देखिन्छ ।

यसै क्रममा सीमा जोडिएको टोखा नगरपालिकाको वडा नम्बर १ स्थित झोर बौडेश्वरमा बनाउन लागेको एउटा निर्माण योजनालाई एक करोड रुपैयाँ “सीड मनी” दिएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण शुभारम्भका लागि ५० लाख रुपैयाँ मात्रै प्रदान गर्न सक्यो । त्यसका बावजूद पनि संरक्षक, विज्ञ, सल्लाहकार सहितको बेग्लाबेग्लै ५५ सदस्यीय निर्माण समितिले पुनर्निर्माणको खाका बनाएर पुनर्निर्माण शुरु गर्ने कोशिस गरिरहेको छ । त्यसमा दबाव, विवाद र जनसहभागिता निरन्तर जारी छ ।

काठमाडौं महानगरपालिका आफैँ प्रत्यक्ष संलग्न भएर अगाडि नसरेका कारण काष्ठमण्डप पुनर्निर्माण समितिलाई बजेट विनियोजन गर्नै समस्या भैरहेको धेरैले महसूस गरिरहेको सत्य हो । कतिपय नियमावली नै संशोधन गरेर मात्र काम गर्नुपर्ने बाध्यता महानगरपालिकालाई छ । त्यसका लागि पनि समितिले आफूलाई सन्तुलित बनाइराख्नुपर्ने देखिन्छ ।

जगदेखि नै निर्माणकालका निक्र्योल विवाद समाधान गर्नुपर्ने साथै अधिकांश काठका संरचना बनाउनुपर्ने भएका कारण काठ र ठूलो संख्यामा काष्ठकर्मीको व्यवस्थापनमा चुनौती सामना गर्नु नै काष्ठमण्डप पुनर्निर्माण समितिको मूल जिम्मेवारी हुने निश्चित छ । त्यस क्रममा विज्ञ र जनस्तरबाट आउने दबाव, विवाद र सहभागिताले पुनर्निर्माणलाई परिस्कृत गर्दै लाने कुरामा शंका नै छैन ।

त्यसकारण काष्ठमण्डप पुनर्निर्माणको कामले जति नै समयावधी लिए पनि त्यसबाट विनाशकारी भूकम्पपछिका एक पुस्तालाई अमूल्य शिक्षा र ज्ञान प्रदान गर्ने कुरामा शंका नै छैन । यसमा यति नै समयावधी भित्र निर्माण सम्पन्न गर्ने भन्दै हिँड्नुमा कुनै तुक देखिँदैन ।

यसै सन्दर्भमा “नेपालको सांस्कृतिक सम्पदा पुनर्निर्माणमा जनसहभागिता र खरीद व्यवस्थापन” विषयमा शोध गरेका नेपाल सरकार, भवन विभागका आर्किटेक्ट कृष्ण कुमार महर्जनको भनाई प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ । उहाँको भनाई छ– “हामीकहाँ अहिलेसम्म भैरहेका पुनर्निर्माणका काम सम्पदा संरक्षणका नियमानुसार भैरहेका देखिँदैनन्, अब गरिने पुनर्निर्माणका काम आजको पुस्तालाई नै सम्पदा पुनर्निर्माणमा शिक्षित र दीक्षित बनाउने हुनुपर्दछ ।”

दिनरात नभनी हेटौंडा–काठमाडौं धाउँदै आफूमाथि आएको जिम्मेवारी पूरा गर्न तम्सेका काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यको भनाई छ– “कुरा धेरै गरेर होइन, सबैको सहयोग लिएर काम गरेर देखाउनेछु ।” 

कामका लागि उहाँले जति पसिना बगाइरहहनुभएको छ, त्यस अनुरुप प्रतिफल अबका दिनमा अवश्य देखिएला, तर अत्यन्तै सम्वेदनशील सम्पदाको जिम्मेवारी लिएर मतदाताको विश्वास जित्न हिँडेका सांसद शाक्यले बाटामा भेटिने बाधा–अवरोधहरुको अग्लै पहाड उक्लिनुपर्ने देखिएको छ ।

जसका लागि उहाँलाई आफ्नै पार्टी भित्रबाट मात्रै होइन, बाहिरबाट पनि उत्तिकै साथ र सहयोगको आवश्यकता रहेको देखिन्छ । यदि त्यसो भएन भने काष्ठमण्डप पुनर्निर्माण सम्पन्न गर्ने धेरैका सपनामा पहिरो नजाला भन्न सकिन्न ।

अन्तिम अपडेट: असोज २, २०७५

कुमार रञ्जित

तपाईको प्रतिक्रिया