नागपञ्चमी र मेरो ‘गुड्डागुड्डी’

 साउन ३१, २०७५ बिहिवार ११:३१:४ | सिर्जना चौधरी
unn.prixa.net

नागपञ्चमीको दिन आमा बिहानै उठेर गाईको गोबरले चारैतिरबाट घेर्नु हुन्थ्यो र घरको भित्तामा नागको, चन्द सूर्यको, हलो, जुवाको चित्र कोर्नुहुन्थ्यो । म पनि अलिकति गोबर लिएर आमाले बनाएको चित्रसँगै चित्र बनाउथेँ ।

यस्तै गोबरको घेरा र चित्र सबैको घरमा कोरिएका हुन्थे जसले नागपञ्चमी मानाइसकेको प्रमाण जस्तो हुन्थ्यो । तर यस्तो गर्नुको कारण आफनो घरमा रोगव्याधि, दुःख, पीडा नछिरोस् भन्ने हुन्थ्यो भने हामी केटाकेटीहरुमा सर्प घरमा नछिरोस् भन्ने कुराको विश्वास हुन्थ्यो । 

गाईको गोबरले घर घेरिसकेपछि आमा र छिमेकका महिलाहरु  भिजाएको चना, धानको लावा –(फूला), गाईको दूध र सिन्दुर नाग देवताको थान मनिएको ठाउँमा चढाउनुको साथै गाउँको देवीथानमा, दहडचन्नी, इनार, धारा, र आफनो कुल देवतालाई चढाउँथे । नागपञ्चमीको विशेष परिकार भनेको भिजाएको चना तेलमा भुटेको र धानको फुला हुन्थ्यो । जसलाई घुघुरी र लावा भन्ने गरिन्छ ।

तर  मलाई भने अरु केटीहरुलाई झैँ न त आमाले गाईको गोबरले  भित्तामा कोर्ने चित्रमा ध्यान हुन्थ्यो न त नागपञ्चमीको दिन नाग देवताको पूजा हो भन्ने तिर केन्द्रित हुन्थ्यो । मेरो ध्यान गुडिया बनाउनमै केन्द्रित गर्न चाहन्थेँ । त्यसैले दर्जीको पसलबाट नागपञ्चमी आउनुअगावै टालाटुलीहरु मागी ल्याउँथेँ । साथीहरुको भन्दा आफनो गुड्डागुड्डी (गुडिया र गुडियाको बेहुला) रामो होस् भनेर । 

आफूले बटुलेको अमूल्य वस्तुझैँ राखेको टालाटुलीको पोको खोली गुड्डागुड्डी बनाउँदा गुड्डा बनबे कि गुड्डिनिया ? (गुडिया बन्छस् कि गुडियाको बेहुला) भन्दै आफ्नो निधारमा गुड्डागुड्डीको टाउकोको आकार दिनलाई ठोक्थेँ ।  आफूले बनाएको गुड्डागुड्डीलाई त्यहीअनुसारको पहिरन लगाइदिन्थेँ र दङ्ग पर्दै बेहुलीलाई सिँगारेझैँ सुम्सुमाइरहन्थेँ । 

आमाले छुट्याएर राखिदिएको चना, धानको फुला गुड्डागुड्डी भोकाउँछ कि भनेर घरिघरी खुवाइराख्थेँ । फुपूले मैले गुड्डीगुड्डालाई खुवाएको देखेर तेरो गुड्डीगुड्डालाई पखाला लाग्छ भनेर ठट्टा गर्नुहुन्थ्यो ।

गुड्डागुड्डी बनाइसकेपछि डोली बनाउनका लागि साथीहरुसँग केरा काटिएको ठाउँ खोजेर केराको बुङ्गो ल्याउँथ्यौँ । गुड्डागुड्डीको डोली रङ्गीचङ्गी फूलले बाँसको सिन्कामा उनेर सजाउथ्यौँ । हजुरबुवाले बनाइदिएको पिङ साथीहरुसँगै खेल्थ्यौँ र आ–आफ्ना गुड्डागुड्डीलाई पनि पालैपालो खेलाउथ्यौँ ।

नागपञ्चमी मनाउन माइती आएका चेलीहरु गाँउको बगैँमा कुस बाटेर बनाएको ठूलो पिङ मच्चिमच्ची खेल्थे । आ–आफना घरबाट आएका दाैँतरीहरु लामो समयपछि भेट भएकाले पिङ खेल्दै गीत गाउँथे । उनीहरु गीतमार्फत आफना घरको र घरका सदस्यको कुरा साथीहरुलाई बेलिविस्तार लगाउँथे ।

साँझतिर जब चौकिदारले गुड्डागुड्डी सेलाउन जाने हाँक लगाउँथे, हामी केटीहरु आ–आफनो गुड्डागुड्डीलाई पुनः सिँगारेर चना, दूध र लावा खुवाई कपडाको पोकोसँगै दियो बालेर डोलीमा चढाई बिदा गर्न घाटतिर लम्किन्थ्यौँ ।  घरका अरु सदस्यहरु हाम्रो पछाडि गुड्डागुड्डीलाई बिदा गरेपछि घुघुरी र लावा प्रसादका  रुपमा बाँड्न ल्याउँथे । 

गुड्डागुड्डी सेलाउने घाटमा गाँउको ठूलो घुइँचो लाग्ने गर्थ्यो । डफलीवालाले डफली बजाउँदै जान्थ्यो । जन्तीले बेहुली लैजाने र बेहुली पट्टिकाले छोरी अन्माउने जस्तै हुन्थ्यो माहोल । हाम्रा दाजुभाइ पहिले नै घाटमा आफूले बिहानैदेखि मिहनेत गरी रङले सजाएको लामा र बलिया लट्ठी लिई कुरेर बसेका हुन्थे ।

हामी आफ्ना गुड्डागुड्डीलाई बचाउनतिर लाग्थ्यौँ भने हाम्रा दाजुभाइ भने कति बेला पानीमा सेलाउँछन् र बलिया लट्ठीले गुड्डागुड्डीलाई पिट्न पाइन्छ भन्दै दाउ छोपी बस्थे । 

आफ्ना गुड्डागुड्डीलाई नपिटून भन्दै जोगाउनलाई हामी केटीहरु टाढा लगेर सेलाउँथ्यौँ ।  आफ्ना गुड्डागुड्डी नपिटिउन भनि जोगाउन लाख कोसिस गरे पनि अन्तमा पानीमा बगिरहेको गुड्डागुड्डीको डोली, बलिरहेको दियो, गुड्डागुड्डीमाथि केटाहरुको लट्ठी बर्सिन्थ्यो । अनि नदीमा धुजाधुजा भएर बग्थे । 

आफूले यसरी मिहिनेत गरी बनाएको गुड्डागुड्डीलाई धुजाधुजा बनाई कुटेको मलाई कहिल्यै मन परेन । नाच्दै गाउँदै बनाएको गुड्डागुड्डीको बिदाई गरेपछि आफ्नै दाजुभाइले धुजाधुजा परिदिँदा मन खिन्न हुन्थ्यो । हामी नरमाइलो मान्दै निन्याउरो अनुहार लगाई आफ्नो गुड्डागुड्डीलाई पिटेको सम्झँदै घर फर्किन्थ्यौँ ।

आफूले मिहिनेत गरी बनाएको गुड्डागुड्डी किन पिटिँदा रहेछन् भनि बुझ्दा यस्तो गर्नुको पछाडि विभिन्न किम्बदन्ती रहेको पाइयो । गुड्डागुड्डी सेलाउनु र पिट्नुको किम्बदन्ती अघि सार्दै थारु इतिहासकार दिलबहादुर चौधरी थारु समुदायको गुरीया –गुरही) पर्वमा लेख्नुहुन्छ,  ‘कसैले पुतलालाई (गुड्डागुड्डी) गाइने किरा मानी पिट्ने गर्दछन् भने कसैले ती पुतलालाई बहिनीका अवगुण मानी पिट्ने गर्दछन् ।

उहाँँको कथा अनुसार – विवाहित नागकन्याले एक महिलासँग आफू नागवशंको भएको र यो कुरा कसैसँग नभन्न आग्रह गरेकी थिइन् । जुन कुरा ती महिलाले अर्की महिलासँग भनिन् । यसो गर्दागर्दा यो कुरा शहरमा फैलियो र नागवंशका महाराजसम्म पुग्यो । महिलाको मनमा कुनै पनि कुरा लामो समयसम्म टिक्दैन भन्ने रिसले राजा आगो भए । सबै महिलाहरुलाई चौराहामा जम्मा गर्न लगाए । उनले सबैलाई कोर्राले पिट्न लगाए र मारे । यही किम्बदन्तीलाई पछ्याउँदै अहिलेसम्म पनि गुड्डागुड्डी बनाएर कुट्ने गरिएको हो । 

उहाँकै अर्को कथाअनुसार आफ्नो भक्त रहेको एक बालकलाई देखेर नागदेवता निस्कन्थे अनि खुसीले बालकको खुट्टामा लटपटिन्थे र मणि छोडेर बिलाउँथे । एक दिन पूजा गर्न निस्कने बेला ती बालकसँग उनकी बहिनी पनि मन्दिर गइन् । मन्दिरमा पुग्दा फेरि नागदेवता देखा परे । दाजुको खुट्टामा मायाले बेरिए । बहिनीलाई लाग्यो कि मेरो दाजुलाई नागले डस्यो । आत्तिएर उनले चना, केराउ, भुजा, दूध राखेको ढकियाले पिटेर नागलाई मारिदिइन्  । दाइले नागका बारेमा बहिनीलाई पूरा कहानी बतायो । कहानी सुनेर बहिनी निकै रोइन् र पश्चाताप गरिन् । दाजुको लागि नाग र बहिनी बाराबर थिए। घटनापछि त्यहाँ भएका मानिसहरुले भने सर्प देवताको रुप हुन्छ, त्यसैले बहिनीलाई दण्ड र सर्पलाई पूजा जरुरी छ भने । तर बहिनीले दाजुको प्राण बचाउन मात्र यसो गरेकीले बहिनीको रुपमा गुडिया बनाएर दण्ड दिनु उपयुक्त ठाने ।

त्यसैगरी इतिहासकार दिलबहादुर थारुले उल्लेख गरेको अर्को कथाअनुसार एक जना दाजुले आफ्नी बहिनीलाई चाडपर्व मान्न बोलाउन गएका थिए ।  बहिनीको बिहे धनी घरमा भएको थियो । गरिब दाजुलाई देखेर उनी मानमर्यादामा बेवास्ता गरिन् । उनको बेवास्ता र अपमानका कारण दाजु घर फिर्ता भए । माइत आएकी बहिनीलाई पनि त्यति मानमर्यादा गरेनन् र उनी माइतबाट फर्किँदा नदी पार गराउँदै अब माइत कहिल्यै नआउनु भन्दै बिदा गर्छन् । यो कथासँग पनि गुड्डागुड्डी सेलाउने प्रचलन जोडिएको छ ।  

दिदीबहिनीले गुड्डागुड्डी बनाउनु र दाजुभाइले पिट्नुको कारण माथिका कथाहरुबाट महिला वा दिदी बहिनीले गल्ती गरेबापत पाएको सजाय बुझिन्छ । 

कथा वा किम्बदन्ती जे जस्तो भए पनि हामी चेलीहरुको लागि नागपञ्चमी महत्वपूर्ण चाड हो । जहाँबाट एउटा बालिकाले आफ्नी आमाले भित्तामा गाईको गोबरले कोरेको चित्र छेउमा चित्रको नक्कल गर्दै चित्र कोर्न सिक्छिन् ।

त्यसैगरी आफूले बटुलेको टालाटुलीबाट गुड्डागुड्डी (गुडिया र उसको बेहुला) बनाई अन्माउँछिन् । उनको दिनभरीको काम कर्तव्यमा स्वतन्त्र रमाई रहेकी हुन्छिन् र आफ्ना गुड्डागुड्डीसँग खेल्छिन् । त्यसैगरी ससुरालबाट माइती ल्याइएका चेलीहरु माइतमा दिनहुँ पछि आफ्ना दौँतरीहरुसँगै रमाउँछन्, सुखदुःख बाँड्छन् र पिङ मच्चाउँदै गीत गाउँछन् :

हमरे झुलनीके तरे तरे परगइला हिरोल (पिङ) 
झुले आओ हो  सखी झुले जाओ हो सखी ।

दुजे सावन के झकझोर कजरी(बादल)
झुले आओ हो सखी झुले जाओ हो सखी ।।

गुड्डागुड्डी पिट्नुको पौराणिक कथा किम्बदन्ती अनुसार महिला वा बहिनीलाई सजायको रुपमा हरेक वर्ष गुडिया विशेषको दिन स–साना बहिनीहरुको गुड्डागुड्डी पिटेर धुजाधुजा बनाइदिँदा स्वयं उनीहरुले नै सजाय पाएको अनुभूति हुन्छ ।

हातमा गुड्डागुड्डीको डोली बोकी घाटतिर नयाँ बेहुलाबेहुलीलाई अन्माउन हिँडेकी नानी गुड्डागुड्डीको डोली बचाउनलाई गुड्डागुड्डी पिट्न भनि पछि परेका दाजुभाइसँग पन्छिन खोज्छिन् र आफ्नो गुड्डागुड्डीको डोली झिलिमिली गर्दै पानीमा परसम्म पुगेको हर्ने चाहना राख्छिन् । 

अन्तिम अपडेट: भदौ १६, २०७५

तपाईको प्रतिक्रिया