चुनाव वैशाखमै हुन्छ, प्रतिनिधि सभा पुनर्स्थापना सम्भव छैन : प्रधानमन्त्री

‘चुनावमा राम्रालाई जिताएर पठाउनुस्, देश विकासकाे जिम्मा म लिन्छु’

 पुष २४, २०७७ शुक्रबार १८:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै हालतमा पनि आउँदो वैशाखमा चुनाव हुने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ओली समूहको नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक र कानुनी रूपमा प्रतिनिधि सभा पुनर्स्थापना सम्भव नरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले आउँदाे वैशाख १७ र २७ गते चुनाव हुने विश्वास दिलाउनुभएकाे हाे । चुनाव तोकिएकै मितिमा हुने भएकाले निर्वाचन अभियानमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

जनसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव राम्रो मानिस जिताएर पठाउन आग्रह गर्दै देश विकास गर्ने जिम्मा आफूले लिने बताउनुभयाे । उहाँले भन्नुभयो, ‘यो सरकारले गरेको विकासको काम तपाईँहरूले देख्नुभएको छ, म थप विकासकाे काम लागिरहेकाे छु ।’

उहाँले तीन करोड नेपालीमा दुई सय ६५ जना अलग हुँदा आफूलाई कुनै फरक नपर्ने पनि बताउनुभयो । उहाँले सुदूरपश्चिमबाट प्रचण्ड–माधव समूहलाई अबको चुनावमा १० सिटमात्र जितेर देखाउन पनि चुनौती दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूको आलोचना गर्दै उनीहरूले झुक्याएर राजनीति गरिरहेको पनि आरोप लगाउनुभयो । पार्टी छाडेर हिँडेका भगौडाको कुरा नसुन्न पनि उहाँको आग्रह छ । उहाँले भ्रमको खेती गरेर कोही अघि बढ्न नसक्ने भन्दै नागरिक सचेत भइसकेको बताउनुभयो ।

सम्बाेधनकै क्रममा प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूभाग भएकाले त्यसलाई फिर्ता लिने प्रतिबद्धता जनाउनुभयो । नयाँ नक्सा प्रकाशन भएपछि केहीलाई पिर परेकाे भन्दै उहाँले भन्नुभयाे, ‘नेपाली भूभाग समावेश गरेर नयाँ नक्सा प्रकाशन गरिएपछि देशभित्रकै नक्कली राष्ट्रवादीहरूलाई पिर परेको छ ।’ 

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम पछाडि परेकाे भन्दै प्रदेशकाे विकासका लागि लाग्ने पनि बताउनुभयाे । गेटा मेडिकल कलेज र विश्वविद्यालयका रूपमा विकास गर्दैछौँ, अत्तरिया–धनगढी बाटो चाँडै सम्पन्न हुँदैछ, विमानस्थलको क्षमता वृद्धि गर्ने काम अघि बढिरहेको छ, गौरीफन्टा नाका विस्तार गर्न भारतसँग कुरा भइरहेको छ ।’   

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया