भारतलाई प्रधानमन्त्री ओलीको सन्देश - कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

 पुष २८, २०७७ मंगलबार ८:२३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई दिनुभएको छ ।

भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पार्नुभयो । उहाँले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर समान हैसियतको भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगर्ने पनि बताउनुभयो । दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले भारत र चीनबीचको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताउनुभयो ।

दुई देशबीचको विवादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लाग्नु जरुरी नभएको प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भारत र चीनबीचको सीमा विवाद समाधानको लागि आफूले मध्यस्थता गर्न सक्ने दाबी पनि गर्नुभयो ।

भारत र चीनबीच समस्यारहित सम्बन्ध होस् भन्ने नै नेपालको चाहना रहेको प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो । अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा नेपालमा चुनाव हुने र त्यसपछि पनि आफू नै सत्तामा आउने दाबी गर्नुभयो । आफ्नो पार्टीले अत्याधिक बहुमत ल्याउने उहाँले दाबी गर्नुभयो ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया