सुदूरपश्चिम प्रदेशमा उत्तरायणी पर्व मनाइँदै

 माघ ३, २०७७ शनिबार ११:२:३ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशवासीले अर्को प्रमुख चाड उत्तरायणी पर्व मनाउन थालेका छन । 

यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि पर्व मनाउन थालेका हुन् । विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ ।

डोटीसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी तथा दाुर्चलाका स्थानीयवासीले आ–आफ्नो पायक पर्ने ठाउँमा जम्मा भएर खाना पकाइ खाने तथा दिनभरि सुदूरपश्चिमेली देउडा खेल खेल्ने र रमाइलो गरी उत्तरायणी पर्व मनाउने गर्दछन् । 

परापूर्वकालदेखि यहाँका पहाडी जिल्लामा प्रत्येक माघ महिनाको ३ गते याे पर्व धुमधामका रुपमा मनाउँदै आएका छन् । यो पर्वको दिन विवाह भएर गएकी छोरीबहिनी बोलाएर दान दक्षिणा दिएर उत्तरायणी मनाइने डाँडा अर्थात ठाउँमा खाना खुवाउने तथा छोरी आफ्नो घर जाँदा सेल रोटीहरु पकाएर दिने चलन रहेको स्थानीयवासी बताउँछन् । 

सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर, घोल्तडा, सिलगढी आसपासका डाँडाकाडाँमा आज बिहानैदेखि उत्तरायणी पर्व मनाउनेहरु नयाँ लुगा तथा पहिरनमा सजिएका देखिन्छन् । उनीहरुका पहिरनका कारण यहाँका डाँडाकाडाँ नै सुन्दर र राताम्मे भएका देखिएका छन् । 

उनीहरुले खानामा मासको पिठोको बटुक, सुदूरपश्चिमको मासबाट बनेको प्रख्यात दाल डुुप्का, भात, सेलरोटी पकाउँदै सबै एकै ठाउँमा बसेर खाना खाने तथा आगन्तुक पाहुनालाई पनि खुवाउने चलन रहेको छ । 

उत्तरायणीका दिन गाउँभरिका सबै स्थानीयवासी एकै ठाउँमा खाना खाने चलन छ । आजकै दिन यहाँका महिलाले रनपुतला खेल पनि खेल्ने गर्दछन् । महिलाका मार्मिक पिरव्यथा झल्काउने र माइतीको प्रगतिका लागि कामना गर्ने नाच हो, रनपुतला । छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिकरूपमा पङ्क्तिबद्ध भएर विवाहित महिलाले बिरहका गीत गाउँदै आजका दिनमा पनि रनपुतला खेल खेल्ने गर्दछन् । 

पुतलीझैँ सिङ्गारिएका महिलाले दिउँसो बेहुलाबेहुलीको एउटा जोडी बनाएर कार्पेटमा बोकेर नजिकैको पँधेरोमा लैजाने चलन छ । स्थानीय लोकलयमा गीत गाउँदै नाच्दै पँधेराबाट बेहुला बेहुलीलाई उत्तरायणी मनाउने ठाउँमा ल्याएर विभिन्न देउडा, झेउरा र भारी डेउडा खेल खेल्दै रमाउने गर्दछन् ।
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया