विश्व ब्याडमिन्टनको वरीयतामा प्रिन्सको छलाङ

 माघ ३, २०७७ शनिबार १३:२४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरीयतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको वरीयताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ । यसअघिको वरीयतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो । 

दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहनुभएको छ । विश्व वरीयतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिनुभएको छ । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहनुभएको थियो ।

नेपालका जुनियर खेलाडी दाहालले पाउनुभएको यो अहिलेसम्मकै ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालले बताउनुभयो । उहाँ पुष्पलाल स्मृति र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा हुनुहुन्छ । दाहाल शुक्रबार भएको क्वार्टरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।

नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गर्नुभएको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिनुभयो । सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल अहिलेसम्म कुनै पनि विभागीय क्लबमा आबद्ध हुनुभएको छैन । उहाँ आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आउनुभएको छ । विसं २०७६ चैतमा विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको वरीयतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो । 

विसं २०७६ मङ्सिरमा जारी विश्व वरीयतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम हप्ता १०औँ स्थानमा उक्लिनुभएको थियो । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १७ वर्षीय दाहाल अहिले ललितपुरको जाउलाखेलमा रहेकाे डाँफे इङ्गलिस बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययनरत हुनुहुन्छ ।

विश्व ब्याडमिन्टन महासङ्घले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व वरीयता निर्धारण गर्दै आएको छ ।  
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया