चालु आर्थिक वर्षमा ५ प्रतिशतसम्म आर्थिक वृद्धि हुन सक्छ : अर्थ मन्त्रालय

आर्थिक वृद्धिमा कमी : ‘१२ लाखभन्दा बढी घरपरिवार गरिबीको रेखामुनि पर्न सक्ने’

 माघ १६, २०७७ शुक्रबार २०:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिकाे बैठक

काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षमा झण्डै पाँच प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले चालु आर्थिक वर्षमा पाँच प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने सम्भावना रहेको बताउनुभएको हो ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा अर्थ मन्त्रालयका सचिव ढुङ्गानाले यस्तो बताउनुभएको हो । यो आर्थिक वर्षको ६ महिनामा आर्थिक गतिविधि विस्तारित हुँदै गएको र राजस्व सङ्कलनको स्थिति पनि गएकाे वर्षकै लयमा फर्किएकाले अबको आर्थिक वृद्धिदर झण्डै पाँच प्रतिशत हुन सक्ने देखिएको बताउनुभयो । सरकारले यस वर्षको बजेटमार्फत सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो ।

आर्थिक वृद्धिमा आएको कमीका कारण गरिबी निवारणमा सरकारले राखेको लक्ष्य भने प्रभावित हुने देखिएको छ । १२ लाखभन्दा बढी घरपरिवार गरिबीको रेखामुनि पर्न सक्ने सम्भावना अर्थ मन्त्रालयले गरेको अध्ययनमा देखिएको पनि सचिव ढुङ्गानाले बताउनुभयो । आर्थिक गतिविधि कमजोर भएको अवस्थामा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा असर पर्ने देखिएको उहाँको भनाइ छ । यसबाहेक मानिसको जीवनस्तर केही महँगो हुन सक्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । 

दिगो विकासको लक्ष्य प्राप्तिका लागि रोजगारी सिर्जना हुने गरी उद्योग मन्त्रालय, गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र साना किसान लघुवित्तमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको सचिव ढुङ्गानाले बताउनुभयो । यस्तै सहुलियतपूर्ण कर्जालाई बैंकका प्रत्येक शाखाबाट परिचालन गर्ने व्यवस्था मिलाइएको पनि उहाँकाे भनाइ छ । कोभिड–१९ बाट प्रभावित क्षेत्रमा ७७ अर्बभन्दा बढी पुनर्कर्जा परिचालन भइसकेको सचिव ढुङ्गानाले बताउनुभयो । यसबाट बिस्तारै सबै क्षेत्र पुरानै लयमा फर्किने पनि उहाँकाे भनाइ छ । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले कोभिड अगाडि गरिबी निवारणको सन्दर्भमा ठिक दिशामा काम रहेको तर कोभिडका कारण असर परेको बताउनुभयो । १५ औँ योजनामा बहुआयामिक गरिबी ३८ दशमलव ६ बाट ११ दशमलव ५ मा झार्ने र मौद्रिक गरिबी १८ दशमलव ६ बाट ९ दशमलव ५ मा झार्ने लक्ष्य लिएको तर अहिले प्रभावित भएको उहाँले बताउनुभयो । कृषि र शिक्षा क्षेत्रमा लक्ष्यअनुसार प्रगति हुन नसके पनि स्वास्थ्य क्षेत्रमा धेरै नै सुधार भएको उहाँकाे भनाइ छ ।

यस्तै कोभिडको असर बिस्तारै सामान्य अवस्थातर्फ फर्केकाले यस वर्ष झण्डै पाँच प्रतिशतको आर्थिक वृद्धिदर हुन सक्ने देखिएको उपाध्यक्ष कँडेलले बताउनुभयो । उत्पादनमूलक उद्योगतर्फ अझै असर परिरहेकाले आर्थिक वृद्धिदर प्रभावित हुने देखिएको उहाँको भनाइ छ । 

बैठकमा राष्ट्रिय सभा सदस्यहरूले देशमा गरिबी बेरोजगार र भ्रष्टाचार बढ्दै गएका कारण दिगो विकासका लक्ष्यहरू प्राप्त हुन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले कोभिडको असर सँगसँगै गरिबी, बेरोजगारी र भ्रष्टाचा एकैसाथ बढ्दै गएको बताउनुभयो । 

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले दिगो विकासको लक्ष्यमा पुग्ने भनिए पनि सरकारले त्यहीअनुसारको काम गर्न नसकेको बताउनुभयो । दिगो विकासको लक्ष्यसम्म पुग्ने योजना सरकारसँग नरहेको पनि उहाँकाे भनाइ छ ।

आफ्नो जिल्लामा मात्रै बजेट केन्द्रित गर्ने मन्त्रीहरूको प्रवृत्तिले दिगो विकास लक्ष्यमा पुग्न नसकिने पनि राष्ट्रिय सभा सदस्यहरूले बताएका छन् । यस्तै स्थानीय जनप्रतिनिधिहरूले पनि प्रत्येक विकास निर्माणका कामको ठेक्का आफै लिने भएकाले विकासका काम प्रभावित भएको उनीहरुको भनाइ छ ।   

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया