लमजुङ : कला, साहित्य, लोकसंगीतको उर्वरभूमि

 भदौ २, २०७५ शनिवार १३:२:६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मौलिक कला, साहित्य, गीतसंगीतको उर्वरभूमि मानिन्छ, लमजुङ । यहाँको माटोले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मायो । लोपान्मुख मौलिक ठाडोभाकाको संरक्षणमा आजीवन होमिएका ठाडोभाका शिरोमणि भेँडीखर्के साहिँलालाई समेत जन्मायो । तर अहिले साहिँला हामीमाझ हुनुहुन्न ।

घर मेरो कुन्छा
धोबी लुगा धुन्छ
मसित माया नै माया लाउँदा खेरी
तिम्रो लमजुङेहरु रिसाउने छैन र

भनि मर्जी हुन्छ
तोरीको तेल 
को रिसाउने नानी यतिखेर
खाली भ’को बेला 

बाखरी बोका 
कोई दिनमा पनि 
नानी नपुग्ने धोका
हो भन्छ र........................

यस्तैयस्तै थुप्रै मौलिक ठाडोभाकामा सुमधुर स्वर भरेका भेँडीखर्के साहिँला हामीमाझ नभए पनि मनै छुने उहाँका गीतहरु हाम्रो मन, मष्तिष्कमा अमिट छाप बनेर बसिरहनेछ । मनमष्तिष्कमा गुञ्जिरहनेछ । 

भेँडीखर्के साहिँलालाई मात्र नभई लोक गीतसंगीतको क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निभाएका, चर्चामा रहेका थुप्रै गायक÷गायिका पनि जन्माएको छ, लमजुङको माटोले ।   

लोक सांगितिक आकाशका चम्किला तारा मानिने बिमाकुमारी दुरा, राजु परियार, माया गुरुङ, कृष्णसुदा ढुंगाना, कृष्ण गुरुङ लगायतका दजनौँ श्रष्टालाई जन्मायो, हुर्कायो, लमजुङको माटोले ।

आफूले गाउने गीतहरुमा पनि उनीहरुले लमजुङको माटोलाई समेटे । लमजुङको पहिचान र मायालाई समेटे ।   

गायिका बिमाकुमारी दुरा   

नौ डाँडा काटेर पारि 
छोडी आएँ लमजुङको घरबारी
लमजुङ तुर्लुङ्कोट
सरसर हावा चल्यो 
लाँकुरीको बोट...

बिमाकुमारी दुराले गाएको यस गीतले लमजुङप्रतिको मायाको भाव बोकेको छ । माया, प्रेम, मिलन, विछोड, नारी वेदनामा केन्द्रित रहेर लेखिएका सयौँ गीतमा आवाज दिनुभएको छ, गायिका दुराले ।

उहाँको प्रायः सबै गीतले नेपाली जनजनको मन छोएको छ, मन छुन्छ । 

वनपाखा, मेलापातमा गाउँदागाउँदै आफू गायिका बनेको गायिका दुरा बताउनुहुन्छ । पछिल्लो समय लोक गीतसंगीतमा मौलिकता हराउँदै गएकोमा उहाँको मन भने अमिलो भएको छ ।    

मौलिक गीत मात्रै गाउन रुचाउने गायिका दुरा भन्नुहुन्छ, ‘लोक गीतसंगीतलाई जोगाउन माटो सुहाउँदो गीत गाउनु आवश्यक छ ।’  

गायक राजु परियार

मान्छेभन्दा ठूलो जात कुन छ र
मैले छुँदा पानी विष हुन्छ र
जति सक्छ्यौ तर्क मायालु
मैले छुँदा छोइन्छ भने त
सुनपानीले छर्क मायालु.......

समाजका जातीय विभेद विरुद्धका कयौँ गीतमा आवाज भर्नुभएको छ, गायक राजु परियारले । कुनै बेला चर्चामा रहेका लोकदोहोरी गायक राजु परियार पनि लमजुङकै हुनुहुन्छ । लमजुङकै वनपाखामा खेल्दै, रमाउँदै, हुर्केका गायक राजु आफ्ना अग्रजलाई सम्मान गर्नुहुन्छ । उहाँ आजसम्म पनि लोक गीतसंगीतकै क्षेत्रमा हुनुहुन्छ ।

हजारौँ गीतमा स्वर भरेका गायक परियार समाज छुने गीत गाउन रुचाउनुहुन्छ । उहाँले पनि आफ्नो जीवनमा जातिय विभेद विरुद्धसंगै थुप्रै माया, प्रेम, मिलन विछोडका मौलिक पाराका गीतमा आफ्नो जादुमयी स्वर भर्नुभएको छ । 

टिप्छु फूल डर छैन काँडाको
तिम्रै हुँ म नसम्झ टाढाको
मिरमिरेको घाम 
लर्के जोवन तिम्रै हो रामाराम
ढाँटे मरिजाम.....................

मायाका भावले भरिपूर्ण यस्ता थुप्रै उहाँले गाएका गीत अझै जनजिब्रोमा झुण्डिन सफल छन् । राजुको जादुमयी स्वरलाई कतिपय भगवान्कै ‘वरदान’ मान्छन् । त्यस्तै माया गुरुङले पनि नेपाली लोकसंगीतलाई माया गर्दै यसलाई बचाइराख्नुपर्ने बताउनुहुन्छ ।  

लाको माया भई लाखापाखा 
मायालाई .....................
सम्झी ल्याउँदा रसाउँछन् दुई आँखा
गाउँशहरमा लमजुङ दरबार 
मायालाई दिने थिएँ फूलजस्तो जोवन 
भइसक्यो मेरो घरबार.....

स्वर्गीय भेँडीखर्के साहिँला, राजु परियार, बिमा कुमारी दुरा, माया गुरुङलगायतको गायकी, गीतलाई पाकोपुस्तासँगै नयाँ पुस्ताले पनि उत्तिक्कै रुचाउँछ । 

उनीहरुकै बाटो पछ्याउँदै लमजुङका थुप्रै नयाँ पुस्ताका गायक÷गायिका लमजुङबाट काठमाडौँसम्म पुगी लोक गीतसंगीतको क्षेत्रमा पाइला चालिरहेका छन् । लोक सांगितिक क्षेत्रमा पाइला चाल्दै गरेका लमजुङकै चेलो गायक रमेश परियार भन्नुहुन्छ, ‘आदरणीय अग्रज बिमा दिदी, राजु दाइ, कृष्ण गुरुङ दाइ, कृष्णसुदा ढुंगाना दाइहरुबाट सानैदेखि प्रेरित भएर अहिले म लोक गीतसंगीतकै क्षेत्रमा संघर्ष गरिरहेको छु ।’ 

परियारले गायनसँगै गीत लेख्नुका साथै गीतमा संगीत पनि भर्दै आउनुभएको छ । उहाँका पनि धेरै नै लोकगीतसँगै तीज गीत बजारमा आएका छन् । 

तुर्लुङकोटमा कालिका देउता छ  
मलाई रुवाउने त्यही ठाँउमा एउटा छ
आँशुको मुल फुट्यो
तुर्लुङकोटमा रोधी बस्दा लाएको पिरती 
दुराडाँडा काटेर गएपछि छुट्यो..........   

बिमाकुमारी दुरासँगै मिलेर गाएका गायक रमेशको ‘आँशुको मूल फुट्यो...’ बोलको लोक गीतले धेरैको मन जितेको छ ।

उहाँ भन्नुहुन्छ, ‘लोक गीतसंगीतको क्षेत्रलाई माथि उकास्न बिमाकुमारी दुरा र राजु परियार दाइ लगायतको योगदान उच्च छ ।’  परियारजस्तै लमजुङका अग्रज श्रष्टको बाटो पछ्याउँदै लमजुङका नयाँ पुस्ता पनि लोक गीतसंगीतको क्षेत्रमा लागेका छन् । रोशन कुताल, प्रकाश न्यौपाने, सम्झना भण्डारी, मञ्जु विक लगायतका थुप्रै लमजुङे चेलोचेली लोक गीतसंगीत क्षेत्रमा अघि बढिरहेका छन् । 

‘जनजनको मन छुने गीत गाउनु’  

लमजुङे छोराछोरी राजु परियार र बिमाकुमारी दुराले गाएको गीत आफुलाई असाध्यै मन पर्ने सुन्दरबजार फेदीकुनाका ७१ वर्षीय पदमबहादुर भुजेल बताउनुहुन्छ । 

‘बिमाकुमारी र राजुले गाएका सबै गीत मन पर्छ । उनीहरुको गीत मन नपराउने को पो होला र ? उनीहरुले गीत गाएरै लमजुङको शानलाई उच्च पारेका छन् । अझै मन छुने गीत गाउँदै जाउन् भन्ने मेरो चाहना छ,’ बाख्रा चराउन निस्किएको बेला बाटैमा भेटिनुभएका भुजेलले मुस्कुराउँदै भन्नुभयो । 

उहाँलाई विशेषगरीः ठाडोभाका गाउन र सुन्न मन पर्छ । ‘लोक गीत पनि औधी मन पर्छ । अझै रेडियो टीभीमा लोक गीत सुन्छु । हेर्ने गर्छु,’ उहाँले सुनाउनुभयो ।    
लमजुङसँगै देशको शान र पहिचान मौलिक लोक गीतसंगीतको माध्यमबाट दुनियाँमाझ पुर्याउन अझै लमजुङका पुराना र नयाँ पुस्ताका श्रष्टा एकसाथ जुट्नुपर्ने ठाडोभाका संरक्षणमा जुट्नुभएका तार्कु खहरेका विष्णुभक्त अधिकारी बताउनुहुन्छ ।      
 

अन्तिम अपडेट: भदौ २९, २०७५

श्यामशितल परियार

उज्यालोका लमजुङ र मनाङ जिल्ला सम्वाददाता श्यामशितल परियारलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया