गेर्खुखाेलाकाे पुल भत्किएपछि पासाङल्हामु राजमार्ग अवरुद्ध

 भदौ ३, २०७५ आइतबार ७:५१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट – अविरल वर्षापछि नुवाकोटको गेर्खु खोलामा आएको बाढीले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खु पुलमा खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको हो । 

आइतबार बिहान खोलामा आएको बाढीले विदुर नपा–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गोसाइकुण्ड मेला शुरु भइरहेको बेलामा नुवाकोटमा पुल भत्किएर यातायात अबरुद्ध भएपछि मेला भर्न टाढाटाढाबाट आएका दर्शनार्थीहरु प्रभावित भएका छन् । 

खोलाको पानी घटेपछि पुलभन्दा केही माथिबाट डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याउने तयारी भईरहेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । 

खोलाबाट डाइभर्सन बनाएर सडक सञ्चालन गर्न कम्तीमा पनि दुई दिन लाग्ने भएकोले दुई दिनसम्म सडक बन्द हुने प्राविधिकहरुले बताएका छन् । 

सडक नै कटान भएकोले निर्माणको लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया