काम छोडेर राजनीति गर्न खोज्ने आयल निगमका कर्मचारीलाई कारबाही हुन्छ : मन्त्री यादव

 भदौ ३, २०७५ आइतबार १४:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार बसेको बैठकमा उपस्थिति भएका मन्त्री यादवले आयल निगमका कर्मचारीहरु, कर्मचारी कम र नेता बढी भएको भन्दै त्यस्ता कर्मचारीको व्यवहारलाई मन्त्रालयले नसहने बताउनुभएको हो ।

कर्मचारी नेता बन्दा काम गर्न अप्ठ्यारो भएको भन्दै उहाँले त्यस्ता कर्मचारीको क्रियाकलापप्रति चासो राख्न समितिको ध्यानाकर्षण गराउनुभयो । उहाँले कर्मचारीको व्यवहार नसच्चिए त्यस्ता कर्मचारीको विकल्प सोच्न मन्त्रालय बाध्य हुने उल्लेख गर्नुभयो ।

उहाँले निगममा महाप्रबन्धक नियुक्त गर्नका लागि परीक्षा भइसकेको भए पनि राष्ट्रिय आपूर्ति कम्पनी गठन भएकाले तत्काल नियुक्त गर्ने नगर्ने भन्नेमा दुविधा भएको स्पष्ट पार्नुभयो । उहाँ यसबारे छलफल भइरहेकाले मन्त्रालय छिटै निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो ।

मन्त्री यादवले नयाँ ग्यास कम्पनी खोल्नमा रोक लगाएका कारण कतिपय स्थानमा ठूलो समस्या देखिएको उल्लेख गर्दै विषय र स्थान विशेषका आधारमा रोकतोक लगाउनुको सट्टा नियमनमा बढी चासो राख्न समितिलाई सुझाव दिनुभयो ।

आयल निगमका प्रमुख शुशीलकुमार भट्टराईले सामान्य अवरोधले इन्धन आपूर्तिमा असर नपर्ने नगरी भण्डारण क्षमता विस्तारको तयारी भइरहेको बताउनुभयो । इन्धन खपतका दृष्टिले प्रदेश नम्बर ३ मा भण्डारण क्षमता बढी बनाउनुपर्ने देखिएकाले ललितपुर, त्रिसुली र चितवनमा भण्डारण गृह बनाउने गरी तयारी भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

समितिले इन्धन आपूर्ति, इन्धनमा लाग्ने कर, मूल्यवृद्धि तथा संघीय संरचना अनुसार प्रदेशगत इन्धन भण्डारणका लागि भइरहेको कामबारे जानकारी लिन सम्बन्धित मन्त्री र आयाल निगमका प्रमुखलाई बैठकमा बोलाएको हो ।

बैठकमा समिति सदस्यहरुले पेट्रोलियम पदार्थ आपूर्ति, खाना पकाउने ग्यास, तथा आवश्यक भण्डारण क्षमताको विस्तारमा निगमबाट भइरहेका प्रयासबारे जिज्ञासा राखेका थिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया