सरकार आफ्नो प्रतिवद्धतामा जस्ट पास मात्र: कांग्रेस प्रवक्ता शर्मा

 भदौ ३, २०७५ आइतबार १९:१३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसले सरकार आफ्नो प्रतिवद्धतामा जस्ट पास भएको टिप्पणी गरेको छ । 

कांग्रेसले आइतबार केन्द्रीय पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा सरकारको समीक्षा गर्दै सरकार आफ्नो प्रतिवद्धतामा उत्तारित मात्रै भएको टिप्पणी गरेको हो । राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धिको यात्रा र न्यायलयप्रतिको दृष्टिकोणमा सरकारका कामकारवाही उत्कृष्ट रुपमा अंकित हुन नसकेको कांग्रेसकाे ठहर छ । 

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयाे,‘प्रधानमन्त्रीजी जष्ट पासको अवस्थामा देखिनुभएको छ । हामीले त्यसलाई अझै उत्तारित भन्नुपर्ने गरी ठहर गर्नु पर्ने अवस्था छ । हामीले पूरै फेल भनेका छैनौं । तर, उत्तारित अवस्थाबाट मुलुकलाई उकालो लगाउन सकिँदैन । उत्तारित सर्टिफिकेट बोकेर देशलाई उकालो लगाउन प्रधानमन्त्रीले सक्नुहुन्न । उहाँलाई असफल हुने सुविधा छैन । छुट छैन ।’

राष्ट्रियताको सवालमा उग्र राष्ट्रवादको कारुणिक विसर्जन गरेको ठहर कांग्रेसले गरेको छ । प्रतिपक्षका प्रति द्वेषयुक्त अभिव्यक्तिहरु आउनु, निषेधाज्ञा तथा मिडियामा हस्तक्षेप गर्दै नागरिक स्वतन्त्रता माथि अतिक्रमण गरेकाले सरकार सम्पूर्ण रुपमा असफल हुँदै गएको निष्कर्ष कांग्रेसले निकालेको छ ।

विपक्षी दलले सहयोग गरिरहेको बेलामा बलियो र जिम्मेवार ढंगले सबैको विश्वास लिन पहलकदमी गर्न नसक्नुु नै सरकारको असफलता भएको प्रवक्ता शर्माले बताउनुभयो । 

दुई तिहाइको सरकार भएपछि काम त्यस अनुरुपको हुन नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ । 

प्रवक्ता शर्माले भन्नुभयाे, ‘खोइ कहाँ छ दुई तिहाइको सरकार?कहाँ छ त्यो शक्तिशाली प्रधानमन्त्रीको ओजिलो व्यक्तित्व?खोई नीति तथा कार्यक्रम त्यो अनुसारका?खोइ त्यो अनुुसारको बजेट?’

उहाँले समृद्धिको सन्दर्भमा ं६ महिनालाई हेर्ने हो भने प्रशंसा गर्ने खालको कार्यक्रम के आयो, चुलाचुलामा ग्यास पुर्‍याउने कुरा कहाँ पुग्यो, ६ महिनाभित्र बजेटमा त्यो किन हिस्सा बन्न सकेन र रेलमार्गका विषयमा कसले लगानी गर्ने अहिलेसम्म यो प्रष्ट किन हुन सकेन भन्दै प्रश्न गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया