बेसीसहर–चामे सडक कालोपत्र गर्न भन्दै प्रशासनलाई ज्ञापनपत्र, सङ्घर्षका कार्यक्रम तय

 फागुन २०, २०७७ बिहिबार १९:५१:२५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ : बेसीसहर–चामे सडक सरोकार, समन्वय तथा सङ्घर्ष समितिले विभिन्न माग राख्दै प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । समितिका अध्यक्ष सूर्यप्रकाश कतिला, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विकलगायतको एक समूहले बिहीवार जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएको हो ।

बेसीसहर–चामे सडकको विभिन्न ठाउँमा झरेको पहिरो, खाल्डाखुल्डी, साँघुरो ठाउँ, खोल्साखोल्सीलगायतका ठाउँमा पाँच दिनभित्र स्तरोन्नति कार्य सुरु गर्न, चालु आर्थिक वर्षमा नै बेसीसहर–चामे सडक कालोपत्रे गर्ने गरी तत्काल टेण्डर प्रक्रिया अघि बढाउन भन्दै सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो । 

‘लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङ सदरमुकाम चामे जोड्ने एकमात्रसडक निर्माण सुरु भएयता स्तरोन्नति हुन सकेको छैन । २०५१ सालदेखि निर्माण सुरु भएको सडक २०७७ सालसम्म आइपुग्दा झन्–झन् बिग्रँदो अवस्थामा छ । बेसीसहर नगरपालिकाको वडा नं. ६ र ७ मस्र्याङ्दी गाउँपालिका र मनाङ जिल्लाका ‘लाइफलाइन’ को रुपमा रहेको यो सडक स्तरोन्नति हुन नसक्दा यहाँका नागरिकले दैनिक हैरानी बेहोर्नुपरेको छ । व्यवसायीहरुले बढी ढुवानी तिर्नुपर्दा महँगी बेहोर्नुपरेको छ’, ज्ञापनपत्रमा लेखिएको छ । 

सडक सङ्घर्ष समितिले माग पूरा गराउनका लागि भन्दै विभिन्न सङ्घर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । 

सङ्घर्षका कार्यक्रमअन्तर्गत बिहीवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, योजना आयोग, सडक विभागलगायतमा ज्ञापनपत्र बुझाइएको सङ्घर्ष समितिका सचिव नवीनराज कुइँकेलले जानकारी दिनुभयो । 

यस्तै फागुन २६, २७ र २८ गते बेसीसहर–चामे सडकमा नागरिकका तर्फबाट धर्नासहित चक्का जाम गर्ने, फागुन २९ गते खुदीबजारमा सडक अन्तरक्रिया कार्यक्रम गर्ने र सडक अन्तरक्रिया कार्यक्रमबाट आउँदा दिनका आन्दोलनका कार्यक्रम तय गर्ने लगायतका सङ्घर्षका कार्यक्रम तय गरिएको पनि सचिव कुइँकेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया