मन्त्री यादव आफै पुगे कालीमाटी तरकारी बजार, निर्देशकलाई सोधे : अनुगमन नगरेर के हेरेर बसेको ?

 भदौ ४, २०७५ सोमबार १४:२४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका पदाधिकारीकै मिलेमतोमा उपभोक्तामाथि ठगी हुने गरेको भन्दै छानबिन गर्ने भएको छ ।

सोमबार बिहान अनुगमनका लागि पुगेका उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलाई सहयोग नगरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपभोक्तालाई ठग्ने काम समितिका जिम्मेवार पदाधिकारीबाटै हुने गरेको भन्दै उनीहरुलाई छानबिन गरी कारबाही गर्न मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई निर्देशन दिनु भएको हो ।

व्यापारी र सरकारी अनुगमन टोलीबीच विवाद भएपछि तरकारी बजारमा आफै पुग्नु भएका मन्त्री यादवले समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई ‘तरकारी बजार अनुगमनको काम नगरेर के हेरेर बसेको’ भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो । उहाँले बजार समितिका पदाधिकारीहरुले बिचौलियासँग मिलेर उपभोक्ता मारमा पार्ने काम गरेको भन्दै कार्यकारी निर्देशक पौडेललाई विलविजकबिना नै जथाभावी रुपमा किन तरकारी आयात गर्ने काम गरिएको भन्दै प्रश्न समेत गर्नु भएको थियो ।

कालीमाटीस्थित तरकारी बजारमा तनाव बढेपछिमन्त्री यादव आफै बजारमा पुग्नु भएको हो । त्यस क्रममा उहाँले बजार अनुगमनमा भएको अवरोधबारे जानकारी लिनु भएको थियो । बिहान तरकारी अनुगमनको लागि पुगेको सरकारी टोलीलाई विचौलिया र व्यापारीहरुले बजार विकास समितिको भवनमा थुनेका थिए । त्यसलगत्तै बाक्लो मात्रामा प्रहरी परिचालन गरिएपछि मात्रै व्यापारीले अनुगमन टोलीलाई बाहिर निस्कन दिएका थिए ।

अनुगमनको क्रममा बिलविजक नभएका दुई वटा ट्रकलाई नियन्त्रणमा लिइएको छ । अनुगमनकर्तालाई धम्की दिने दुई जना व्यापारीलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया पनि सुरु गरिएको छ । अनुगमन टोलीलाई धम्क्याउने विचौलियाको नेतृत्व गर्ने कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडासहित २ जना पक्राउ परेका हुन ।

सरकारले उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको भेटिएपछि त्योतरकारी बजारलाई कडा निगरानीमा राखेको छ । मन्त्री यादवले बिलविजक बिनाको कुनै पनि सामान बजारभित्र प्रवेशमा रोक लगाउन पनि बजार विकास समितिलाई सचेत गराउनुभयो । उहाँले उपभोक्तामाथि ठगी गर्नेहरुलाई सरकारले नियन्त्रणमा लिएर कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अमृत

    Aug. 20, 2018, 3:43 p.m.

    वाटाे वाटाेमा भएकाे फाेहाेरकाे डंगुर कसले हटाउने ।।।।। त्यता पनि ध्यान जाअाेस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया