लालीगुराँसले ‘राताम्मे’ लमजुङका डाँडापाखा, पर्यटकको ध्यान खिच्दै

 चैत ९, २०७७ सोमबार २०:१२:४५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको डाँडापाखामा यतिबेला विभिन्न थरीका लालीगुराँस फुलेका छन् । लालीगुराँसमा सजिएका छन्, लमजुङका डाँडापाखा । लालीगुराँस हेर्नकै लागि लालीगुराँस फुलेका डाँडापाखामा धाउनेको सङ्ख्या बढ्दै गएको छ । लालीगुराँसले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।

होमस्टे सञ्चालन भएका गाउँमा त लालीगुराँस हेर्नकै लागि अहिले दैनिक पर्यटक पुग्ने गरेका छन् । होमस्टेमै बस्ने गरेका छन् । 

लमजुङको पर्यटकीय गाउँ राइनासकोट क्षेत्रमा पनि लालीगुराँस फुलेका छन् । लालीगुराँस पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

‘वन पाखामा लालीगुराँस फुल्न थालेका छन् । बर्सेनि यही समयमा फुल्ने लालीगुराँसले पर्यटकको आकर्षण बढाएको छ’, राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले भन्नुभयो ।

उहाँका अनुसार यस गाउँमा शुक्रवार र शनिवारको दिन एक सय ५० जनाभन्दा बढी हाराहारीमा पर्यटक आउँछन् । सरदरमा दैनिक ३० जना हाराहारीमा पर्यटक आउने गरेका छन् ।

गाउँबाट पैदल हिँडी राइनासकोट जाँदै दायाँ–बायाँ राताम्मे फुलेका फूलले पर्यटकको मन भुलाउँछ । लालीगुराँस लिएर फोटो खिच्नेको सङ्ख्या उत्तिकै हुन्छ ।

‘वन पाखामा फुल्ने लालीगुराँस फूलले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएकाे छ’, उहाँले भन्नुभयो, ‘तर यस वर्ष विगतको तुलनामा कम लालीगुराँस फुलेका छन् ।’ पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएकाे लालीगुराँस फूल संरक्षणका लागि आवश्यकता र बार लगाइने योजना रहेको उहाँले बताउनुभयो ।

पर्यटक लोभ्याउन लालीगुराँस प्याकेज

लमजुङको बेसीसहर नगरपालिका ३ मा रहेको काउलेपानी होमस्टेमा अहिले पर्यटकको आगमन बढ्दो छ । पर्यटकको आकर्षण बढाउनका साथै पर्यटकको बसाइ लम्ब्याउन यहाँ बाह्रै महिना बाह्रै वटा विभिन्न प्याकेज सञ्चालन गर्ने गरिएको काउलेपानी सामुदायिक होमस्टे समितिका अध्यक्ष देउबहादुर गुरुङले बताउनुभयो ।  

उहाँका अनुसार काउलेपानी सामुदायिक होमस्टे समितिले हरेक वर्ष यस समयमा पर्यटकका लागि ‘लालीगुराँस प्याकेज’ ल्याउने गरेको छ ।

विभिन्न ठाउँबाट गाउँमा आउने पर्यटकलाई बेसीसहर नगरपालिका ४ मा रहेको पुरानोकोट दरबार क्षेत्रमा ढकमक्क फुलेका लालीगुराँस देखाइन्छ । ​काउलेपानीबाट पैदल हिँडेर एक घण्टा र गाडीमा आधा घण्टाको समयमा लालीगुराँस फुलेका क्षेत्रमा पुग्न सकिन्छ ।

पर्यटन प्रवर्द्धनमा टेवा

‘सहर–बजारबाट आउने पर्यटक लालीगुराँस हेर्न, तस्बिर खिचाउन पाउँदा निकै खुसी हुन्छन्’, काउलेपानी सामुदायिक होमस्टे समितिका अध्यक्ष गुरुङले भन्नुभयो, ‘लालीगुराँस प्याकेजले पर्यटकको आगमन वृद्धिका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएकाे छ ।’

जलवायु परिवर्तन र मौसम परिवर्तनको प्रभावका कारण यस वर्ष विगतको तुलनामा लालीगुराँस कम फुलेको उहाँले बताउनुभयो । ‘कोपिला धेरै लागेता पनि यस वर्ष कम लालीगुराँस फूलेका छन्’, उहाँले भन्नुभयो, ‘विशेषगरी फागुन महिनामा ढकमक्क लालीगुराँस फुल्ने गर्छ ।’

यस गाउँमा २५ घरधुरी रहेका छन् । १४ घरमा होमस्टे सञ्चालन गरिएको छ भने बाँकी घरधुरीले कृषिजन्य उत्पादनका क्षेत्रमा काम गर्दै आएका छन् । 

गाउँमा होमस्टे सञ्चालन गरिएसँगै स्थानीयको आयस्तर वृद्धिका साथै जीवनस्तर उकासिएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया