१ सय ३५ घरमा पाइपबाट ग्यास जडान, प्रधानमन्त्रीले आज निरीक्षण गर्ने

 भदौ ५, २०७५ मंगलबार ७:३०:१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा मंगलबार निक्कै चहलपहल छ ।

केही दिनअघि मात्र यतिबेला घरघरमा पाइपबाट ग्यास पुर्‍याउँदा खुशी देखिएका स्थानीय मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली घर–घरमा ग्यास पाइपलाइन कार्यक्रम उद्घाटन गर्न आउनेभएपछि थप हौसिएका छन्  ।

गोसेवा सदनले स्थानीयको घर–घरमा पाइप बिछ्याएर वायोग्यास पुर्‍याएउने पहिलो चरणको काम सकिएको छ भने दोश्रो चरणको काम पनि जारी छ ।प्राविधिकहरुले स्थानियवासीको घरमा ग्यास जडान गरिसकेका छन्  । ग्यास पाइपबाट ग्यास घर घरमा पुर्याउन कसरी सफल भयो त ? यो सबैको चासोको विषय बनेको छ ।

त्रिभुवन दाहाल विराटनगर १४ का स्थानीयवासी हुनुहुन्छ । उहाँको घरमा यतिबेला पाइपबाट ल्याइएको ग्यासबाट खाना पाक्छ । ‘विराटनगरमा निर्माण भएको यो बायो ग्यास प्राकृतिक ग्यास भएकोले राम्रो छ’, दाहाल भन्नुहुन्छ, ‘सुविधा पनि एलपी ग्यासको भन्दा बढी रहेको छ ।’

एलपी ग्यासभन्दा सस्तो पर्ने भएकोले पनि उनीहरु उत्साहित देखिन्छन्  । गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोबर संकलन गरी उत्पादन गरिएको बायोग्यास अहिले स्थानीयको घर–घरमा पाइपबाट पुर्‍याइएको छ ।

गौशलादेखि झण्डै ३ सय मिटर टाढा रहेका ३५ वटा घरमा पहिलो चरणमा बायोग्यास जडान गरिसकिएको गो सेवाका  प्रबन्धक अशोक यादवले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बायो ग्यासको निरीक्षण तथा उद्घाटन गर्ने भनेपछि प्राविधिकहरुले स्थानीयको घर–घरमा गएर चुलो बालेर परीक्षण समेत गरिसकेका छन्  । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास बल्न सुरु भएसँग मंगलबार केपी शर्मा ओलीले त्यही बायो ग्यासको निरीक्षण सँगै त्यसको उद्घाटन समेत गर्ने कार्यक्रम छ ।

यसरी सम्भव भयो

वि.स. २०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको गौशालाबाट निस्किएको गोबरलाई कसरी सदुुपयोग गर्ने भन्ने समितिको छलफलपछि वैकल्पिक बायो ग्यास संचालनमा ल्याइएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट घर–घरमा ग्यास पुर्‍याउने बताएपछि समितिले यस विषयमा गम्भीर चासो दिएर अहिले वैकल्पिक ऊर्जा उत्पादन गर्ने परियोजनाका रुपमा खेर गएको गोबर सदुपयोगमा ल्याएको हो ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएसँगै घर घरमा बायो ग्यास बल्न थालेको नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले बताउनुभयो ।

यसरी तिर्ने महसुल

घरमा बालिएको ग्यासको मिटर अनुसार के कति बील उठ्छ, त्यो सबैले देख्ने स्थानमा मिटरमा राखिएको छ ।

चुल्होमा जोड्नुपूर्व ग्यासको मिटरमा उल्लेख भएको नम्बरबाट त्यसबाट जोडेर कति खपत भएको छ, सोहीअनुसार बील गौ सेवा सदनलाई भुक्तान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

घर–घरमा पाइपबाट ग्यास पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई कतिपयले हावाको रुपमा लिएको अवस्थामा यसरी विराटनगर महानगरपालिका वडा नम्बर १४ मा सुरु भएको यो अभियान पछि स्थानीयमा ‘गर्यो भने सहजै ग्यास उत्पादन हुनसक्ने रहेछ’ भन्ने प्रमाण यो बायो ग्यास प्लान्टबाट देखिएको छ ।

यसबाट स्थानीय पनि खुशी देखिएका छन् । पहिलो चरणमा ३२  घरमा पु्र्याइएको ग्यास त्यसपछि १ सय घर पुुर्‍याइएको हो । गौशालामा पालिएका २ सय ७ वटा गाईबाट दैनिक २ हजार किलोग्राम गोबर उत्पादन हुुने र सोही गोबरबाट बायो ग्यास उत्पादन भइरहेको छ ।

एलपी ग्यासको एक सिलिन्डरमा भएजति बायो ग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने समितिले जनाएको छ । तत्कालीन प्रधानमन्त्रीले हावादारी सपना बाँडेको भन्दै आलोचना गरिएको भए पनि सानो आकारमा पाइपबाट ग्यासको वितरण विराटनगरमा सफल आयोजनाका रूपमा देखिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया