माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

 भदौ ५, २०७५ मंगलबार १०:३९:१२ | रासस
unn.prixa.net

काठमाडौं – नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । 

त्याे आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । त्यसबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको त्याे आयोजनामा नबिल बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडले ऋण लगानीसम्बन्धी सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा त्रिशूली जलविद्युत् कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाट नबिलका कर्पोरेट विभाग प्रमुख ज्ञानेश्वर आचार्यले ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । आयोजनाको कूल लागत आठ अर्ब २२ करोड रुपैयाँ छ ।

निर्माण अवधिको ब्याज मात्रै ७८ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ । त्याे आयोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले स्वपूँजीको रूपमा दुई अर्ब ४६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

आयोजना निर्माणको काम चीनको सिचुवान एनहे हाइड्रोलिक इञ्जिनीयरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । विस्तृत डिजाइन, खरिद र निर्माण (इपीसी) ढाँचामा निर्माण हुने सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गरिने प्रबन्ध निर्देशक गौतमले जानकारी दिनुभयो ।

सन् २०२१ मार्चमा आयोजना सम्पन्न हुनेछ । आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनामा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा र नुवाकोटका गाउँपालिका तथा नगरपालिकाको समान पाँच प्रतिशत, रसुवा र नुवाकोटका स्थानीय बैंक तथा वित्तीय संस्थाको पाँच प्रतिशत तथा रसुवा र नुवाकोटका स्थानीयबासीको दश प्रतिशत शेयर लगानी रहनेछ । 

यस्तै आम नेपालीको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहने गरी संरचना तयार पारिएको छ । नुवाकोट र रसुवाको सिमानामा निर्माण हुने सो आयोजना प्राधिकरणले हाल निर्माण गरिरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि ‘ए’ परियोजनाको सहायक आयोजना हो ।

त्यस आयोजनाले स्थानीयवासी र आम नेपालीलाई शेयर दिने अवस्था नभएपछि सहायक आयोजना निर्माण गरेर सबैलाई शेयर लगानी गर्ने वातावरणसमेत बनाइ निर्माण गर्न लागिएको हो । 

अहिले आयोजनाको प्रारम्भीक काम भइरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा अन्य काम अगाडि बढिरहेको छ । सो आयोजनाबाट उत्पादित विद्युत् आयोजना नजिकै निर्माण हुने त्रिशूली थ्री ‘बी’ हब प्रसारण लाइन एवं सवस्टशेनबाट राष्ट्रिय प्रणालीमा जोडिनेछ । आयोजनाबाट उत्पादित विद्युत् खरिद सम्बन्धी द्विपक्षीय सम्झौतामा २०७४ भदौ ६ गते हस्ताक्षर भइसकेको छ । 

हस्ताक्षर समारोहमा उपस्थित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना आकर्षक र महत्वपूर्ण रहेकाले सबै क्षेत्रको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्ला दिनमा आफ्नो बैंकले ऊर्जा क्षेत्रमा लगानी गरिरहेको जानकारी दिँदै परियोजना निर्धारित समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया