तरकारी बेचेरै करोडपति

 भदौ ५, २०७५ मंगलबार ११:२:३३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – तरकारी खेतीको पकेट क्षेत्र मानिने रुकुममा कृषि कर्म गरेरै करोडपति बनेका जाँगरिला किसाानहरु पनि छन् ।

कोही सरकारी जागिर छोडेर त कोही अन्य व्यवसाय छोडेर तरकारी खेतीतर्फ आकर्षित भएका छन् । रुकुममा तरकारी खेतीलाई व्यवसायीक रुपमा सुरु गरेका संस्था तथा  किसानहरु करोडपति बनेका छन् । 

चौरजहारी नगरपालिका वडा नम्बर–१०, खोलागाँउमा रहेको समशितोष्ण उन्नत तरकारी बीउ उत्पादन सहकारी सस्थाले मात्रै वर्षमा झण्डै ३ करोडको तरकारीको उन्नत बीउको कारोबार गरेको छ ।

सहकारीकी अध्यक्ष गोपा बि.एम.ले तरकारी खेतीबाट सहकारीका धेरै सहस्यहरुले आफ्ना सन्तानको उच्च शिक्षा र घर घडेरी समेत जोड्न मद्दत गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘व्यवसायीक रुपमा कृषि कर्म गर्ने हो भने रुकुममा तरकारी खेतीबाट लाखाैं कमाउन सकिन्छ ।’ 

हुँदाखाँदाको सरकारी जागिर छाडेर तरकारी खेतीमा हौसिएका मुसीकोट नगरपालिका–३, माछिमीका ४८ वर्षीय मोहनलाल खड्काले तरकारी बेचेरै लाखौं कमाएको बताउनुहुन्छ । ‘ग्रामिण स्वास्थ्य कार्यकर्ताको जागिर छोडेर तरकारी खेतीमा लागेँ’, खड्का भन्नुहुन्छ, ‘ठ्याक्कै हिसाब नराखे पनि मैले करोडभन्दा बढी कमाइसकेँ ।’

गएको १८ वर्षदेखि कृषि पेशा गर्दै आउनुभएका खड्काले गएको ५ वर्ष तरकारीको बीउ मात्रै उत्पादन गरेको बताउनुहुन्छ । हरेक वर्ष बजारमा तरकारीको माग बढ्दै जाँदा उत्पादन बढाउँदै मनग्य आम्दानी गर्दै आएको उहाँको अनुभव छ ।

तरकारी उत्पादनमा लागेको सुरुका वर्ष सोचेजस्तो आम्दानी नभएता पनि पछिल्लो एक दशकबाट उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँले अहिले १२ रोपनी आफ्नो र ३ रोपनी अरुको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहनु भएको छ ।

‘हरेक वर्ष झण्डै ९ लाख यहाँको खुद आम्दानी हुन्छ । घर खर्च र छोरा, छोरीको पढाईका लागि खर्च गरेर पनि हरेक वर्ष केही लाख बचेको हुन्छ’, उहाँ बताउनुहुन्छ । तरकारी बेचेर पढाएका २ छोरा सरकारी जागिरे छन् । एउटा छोरीलाई स्नातक पढाइररहुनु भएको छ । उहाँले ३५ लाख मूल्यको घडेरी पनि तरकारी खेतीबाटै जोडेको बताउनुभयो ।

हरेक दिन बिहान ३ बजेबाट कृषि काम सुरु गर्ने खड्काले बाह्रै महिना सबै खाले तरकारी फलाउने गर्नुभएको छ । बिहानै उठेर हरेक उपभोक्ताको घरमा तरकारी पु¥याउने मात्रै नभई तरकारीका बेर्ना लगाउने, गोडमेल गर्ने कार्य उहाँले आफै गर्नुहुन्छ भने कतिपयलाई रोजगार दिएर समेत काम गर्नु परेको बताउनुहुन्छ ।  

उहाँजस्तै गोर्खबहादुर खड्का पनि तरकारी बेचेरै करोडभन्दा बढी कमाउनुभएको छ । मुसीकोट नगरपालिका–१३, साधनचौरका ५० वर्षीय गोर्खबहादुर खड्काले तरकारी खेती गर्न थालेको १५ वर्ष भयो ।

उहाँ आजसम्म करोडभन्दा बढी आम्दानी गरेको बताउनुहुन्छ । प्रत्येक वर्ष सबै खर्च कटाएर पनि ७ लाखभन्दा बढी नगद बचाउने खड्काले पनि विदेश नगएर तरकारी खेतीमा लागेको बताउनुहुन्छ ।

विदेश जान भनेर भिषा समेत लाइसकेका खड्काले स्वदेशमै केही गरौैं भनेर तरकारी खेतीतर्फ लागेको बताउनुभयो । आफ्नो र भाडामा लिइएको १ हेक्टर क्षेत्रफल जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने खड्काले खोर्सानीबाट धेरै आम्दानी गरेको बताउनुभयो । 

सिजन अनुसारका तरकारीबाटै उहाँले २ छोरालाई प्राविधिक शिक्षा पढाउनु भएको छ । एउटा छोरा कृषि जेटीए, अर्का छोरालाई अहेव  र छोरीलाई स्नातकसम्म पढाएको उहाँ बताउनुहुन्छ । उहाँले कृषि खेतिबाटै सदरमुकाम खलंगा बजारमा घडेरी जोडेका खरिद गर्नुभएको छ ।

व्यवसायिक रुपमा खेती गर्दा सफल भइने उहाँको अनुभव छ । उहाँले आफू विदेश जान रोकिएर यतातर्फ लागेको र घरमै बसीबसी कमाई भैरहेको जनाउनुभयो । 
गोपा, मोहनलाल र गोर्खबहादुर मात्रै होइन, उहाँहरुकै हाराहारीमा तरकारी उत्पादन र आम्दानी गर्ने अरु कृषकहरु पनि पर्दछन् । बजार माग अनुसार तरकारी खेती गरेर राम्रो कमाई गर्न सकिने उहाँहरुको भनाई छ ।

व्यवसायीक रुपमा कृषिमा जोडिने हो भने विदेशमा श्रम गर्नुभन्दा आफ्नै बारीमा राम्रो कमाई गर्न सकिने उदाहरण उहाँहरुबाट सिक्न सकिन्छ । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया