एनआरएन मध्यपूर्वको छैटौं क्षेत्रीय सम्मेलन युएईमा

 भदौ ५, २०७५ मंगलबार १३:२४:२६ | उमाकान्त पाण्डे

युएई – गैरआवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैटौं क्षेत्रीय सम्मेलन भदौ ८ र ९ गते युएईमा हुँदैछ ।

मध्यपूर्वमा रहेका १२ देशका राष्ट्रिय समन्वय कमिटी (एनसीसी) तथा अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) का प्रतिनिधिहरुको सहभागितामा हुन लागेको भेलाले मध्यपूर्वमा रहेका नेपाली कामदारका विभिन्न समस्याका बिषयमा छलफल गरी समाधानका उपाय खोज्ने आयोजकहरुले बताएका छन् ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा आयोजकले ल्याउन खोजेका सरकारी प्रतिनिधि भने उपस्थित नहुने भएका छन् । आयोजकले श्रम, गृह र परराष्ट्र मन्त्रालयबाट मन्त्रीस्तरीय उपस्थितिका लागि अनुरोध गरेको थियो ।

तर सरकारले दुई देशीय मन्त्रीस्तरीय भेटघाट र विशेष प्रयोजनका लागि मात्रै विदेश भ्रमण गर्ने निर्णय भए बमोजिम प्रतिनिधि नपठाउने जानकारी दिएको छ ।

 खानेपानी मन्त्री प्रमुख अतिथी

सरकारले सम्मेलनमा खानेपानी मन्त्री बिना मगरलाई पठाउने भएको छ । युएईको दुबईमा हुने सम्मेलनका लागि मन्त्री मगर सहित श्रम मन्त्रालयका उपसचिव विपिन आचार्य र पूर्व श्रममन्त्री रमेश लेखक बुधबार राती युएई आउनुहुने भएको छ । 

कार्यक्रममा युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँल सहित एनआरएनका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्ष भवन भट्ट र एनआरएन आइसीसीका पदाधिकारीको उपस्थिती हुने आयोजकले जनाएको छ । 

मध्यपूर्व सम्मेलनलाई सरकारको उपेक्षा गरेको आरोप

एनआरएनको मध्यपूर्व सम्मेलनलाई सरकारले उपेक्षा गरेको खाडीका एनआरएनहरुले आरोप लगाएका छन । मध्यपूर्वमा श्रम गरिरहेका नेपालीका समस्या र गुनासालाई प्रत्यक्ष सुन्न र समाधानमा सहयोग गर्ने अपेक्षासहित श्रम, परराष्ट्र तथा गृहको सहभागितालाई एनआरएनले जोड दिएको थियो ।

‘हामीले उहाँहरुको सहभागितालाई जोड दिएर प्रयास गर्यौं, तर सरकारबाट खासै सहयोग भएको पाएनौं,’ एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले भन्नुभयो । 

तर सरकारी प्रतिनिधिस्वरुप खानेपानी मन्त्री बिना मगरले समस्या सुन्ने र सम्बोधन हुने गरी काम गर्ने भन्दै सरकारले उहाँलाई पठाउन लागेको श्रेष्ठले बताउनुभयो ।

 एनआरएनले हरेक दुई वर्षमा विभिन्न क्षेत्रीय समितिहरुको सम्मेलन गर्दै आएको छ । युरोपको लक्जम्बर्गमा युरोपेली क्षेत्रीय सम्मेलन सकिएलगत्तै युएईले दोस्रो पटक मध्यपूर्व सम्मेलन गर्ने अवसर पाएको हो ।  

यसअघि सन् २०११ मा युएईले भेला आयोजना गरेको थियो । २०१४ मा बहराइनको मनामामा र २०१६ को पाँचौं भेला कतारको दोहामा भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया