यस्ताे रह्याे एशियाडकाे तेस्रो दिनमा नेपालको प्रदर्शन

 भदौ ५, २०७५ मंगलबार १८:२९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डोनेसियामा जारी १८औं एशियाड अन्तर्गत तेस्रो दिनको खेल सकिँदा नेपालको निराशाजनक प्रदर्शन कायमै रह्यो ।

 तेक्वान्दो 

ओलम्पियन निशा रावल प्रिक्वाटरफाइनलबाट नै बाहिरिएकी छन् । पदकको आशा गरिएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरिँदा निशा पनि सुरुवाती चरणबाट नै आउट भइन् ।

६७ केजी माथिको तौल समूहमा निशा चीनकी गाओ पानसँग २२–६ को स्कोरले पराजित भइन् । पहिलो राउन्डमा तीन एकले पछि परेकी निशा दोस्रो राउन्डमा ६–३ ले पछाडि परिन् ।

तेस्रो तथा अन्तिम राउन्डमा कमब्याक गर्न लाग्दा उनले आफ्नो लय गुमाउन पुगिन् । फाइनल राउण्डमा चीनकी खेलाडीले १३–२ अंक बटुलिन् । जसका कारण निशा २२–६ ले पराजित भइन् ।

महिला ५७ केजी मुनिको गेरोगीतर्फ ज्ञानी चुनारा क्वार्टरफाइनलाम फिलिपिन्सकी पौलिन लोपेजसँग २० – ० अंकले पराजित भईन् ।

यसअघि ज्ञानीले भुटानकी छोदेन किनझांगलाई २८ – ६ अंकले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन् । 

पौडी 

पौडीमा शिरीष गुरुङ पुरुष ५० मिटर फ्रिस्टाइलमा हिट चरणबाट बाहिरिएका छन् । शिरीष आफ्नो हिटमा तेस्रो भएपनि दोस्रो चरणमा पुग्न सकेनन् । शिरीषले २६.३३ सेकेन्डमा दूरी पूरा गरेका थिए । ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६ औं स्थानमा रहे । अब शिरीषले दुई स्पर्धामा खेल्नेछन् ।

यो स्पर्धामा शिरीषको नाममा २५.४३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ । जुन उनले तुर्कमिनिस्तानको अस्कावादमा भएको एसियन इण्डोर तथा मार्सल आर्टस गेम्समा बनाएका थिए । 

आर्चरी 

महिला आर्चरीतर्फको रिकर्भ इभेन्टमा ज्ञानु अवाले पहिलो चरणबाटै बाहिरिएकी छन् । ६६ खेलाडीले सहभागिता जनाएकोमा अवाले ५५औं स्थानमा रहँदै प्रतियोगितबाट बाहिरिएकी हुन् ।

यसैगरी व्यक्तिगत रिकर्भतर्फ नेपालका तिलक पुनमगर र रोशन नगरकोटी पनि पहिलो चरणबाटै बाहिरिए । 

थ्री बाई थ्री बास्केटबल 

७९ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा नेपालका मगर ३७औं र नगरकोटी ४०औं स्थानमा रहे ।

थ्री बाई थ्री बास्केटबलमा नेपाल जापानसँगै सहजै पराजित भएको छ । समूह सीमा रहेको नेपाल जापानसँग २२–११ ले पराजित हूँदै प्रतियोगिताबाट बाहिरिएको हो । 

फेन्सिङ 

फेन्सिङ तर्फ मेन्स फोएल एकलमा नेपालका दुवै खेलाडी प्रतियोगितबाट बाहिरिएका छन् । समूह डीमा रहेका  महेश प्रसाद भट्ट भियतनाम र चीनसँग पराजित भएका हुन् । यसैगरी समूह डीमा रहेका सञ्जीब लामा कतार, जापान, कोरिया, मलेसिया र इण्डोनेशियाका खेलाडीसँग पराजित भएका थिए । 

कबड्डीमा लगातार दोस्रो हार 

कबड्डी अन्तर्गत समूह बी मा नेपाल जापानसँग ३१–२८को स्कोरमा पराजित भयो । नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल आयोजक इण्डोनेशियासँग हारेको थियो । 

प्याराग्लाइडिङमा पनि खराब प्रदर्शन

प्याराग्लाइडिङको पुरुष इण्डिभिज्युअल एक्युरेसीमा नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । दोस्रो चरणको खेल सकिँदा तेस्रो स्थानमा रहेका नेपाली खेलाडी विजय गौतम मंगलबार पाँचौं चरणसम्मको खेलमा १४औं स्थानमा पुगेका छन् ।

अर्का खेलाडी सुशील गुरुङ २५औं स्थानमा छन् । पुरुष टिम एक्यूरेसीमा नेपाल आठौं स्थानमा छ ।

महिला इण्डिभिज्युअल एक्युरेसीतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन कमजोर रह्यो । पाँचौं चरणको खेल सकिँदा नेपालकी त्रिशा श्रेष्ठ १०औं स्थानमा छिन् भने प्रतिभा भुजेल १६औं स्थानमा छिन् । महिलाको टिम एक्युरेसीमा नेपाल सातौं स्थानमा छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया