एसियाली खेलकुद: चाैथाे दिन सकिँदासम्म नेपाल अझै खाली हात

 भदौ ६, २०७५ बुधबार १९:५२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

१८औं एसियाली खेलकुद अन्तर्गत चौथो दिनको खेल सकिँदा नेपालले आज पनि सम्झन लायक प्रदर्शन गर्न सकेन ।

भारोत्तोलनमा भने नेपालका कमलबहादुर अधिकारीले बुधबार राष्ट्रिय कीर्तिमान रचेका छन् । उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।

कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कुल २७९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । स्न्याचमा कमलकै नाममा ११८ केजीको कीर्तिमान थियो जुन उनले २०७१ सालमा ललितपुरमा भएको तेश्रो ग्राँ पिमा बनाएका थिए ।

क्लिन एन्ड जर्कमा कमलले बेइजिङ ओलम्पिकमा बनाएको १५५ केजीको कीर्तिमानलाई सुधार गर्ने क्रममा दोश्रो लिफ्टमै १५६ केजी उचालेका थिए । लगातार चौथो एसियाड खेलिरहेका कमल तेश्रो लिफ्टमा १६० केजी भार वहन गर्दै पुनः १५६ केजीको कीर्तिमानलाई सुधारे । कमल समग्रमा १४ औं भए ।

बिहीबार नेपालका विकास थापाले पुरुष ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् । 

बास्केटबलः ताइपेइद्वारा नेपाल पराजित 

महिला थ्री अन थ्री बास्केटबलमा चाइनिज ताइपेईले नेपाललाई १९–८ ले पराजित ग¥यो । नेपालका भावना लामा र अनुषा मल्लले समान ३–३ अंक जोडे । एलिना गुरुङ र श्रेया खड्काले १–१ अंक बटुले ।

नेपाली महिला टोलीले अब शुक्रबार जापान र मंगोलियाको सामना गर्नेछ । त्यसअघि बिहीबार नेपाली पुरुष टोलीले सिरिया र जोर्डनविरुद्ध खेल्नेछ ।

 पौडी: गौरिका १९ औँ स्थानमा 

एसियाली खेलकुदको पौडीतर्फ महिला २ सय मिटर फ्रीस्टाइलमा नेपालकी गौरिका सिंहले १९ औं स्थान हात पारिन् । २४ खेलाडी सहभागी उक्त स्पर्धाको दूरी तय गर्न गौरिकले २ मिनेट १२.५३ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा गौरिककै नाममा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा शुभम श्रेष्ठ २७ औं स्थानमा रहे । ३२ खेलाडीले सहभागी थिए । शुभमले १ मिनेट ११.३७ सेकेन्डमा दूरी पूरा गरे । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान पनि शुभम्कै नाममा छ । उनको नाममा १ मिनेट ११.२४ सेकेन्डको कीर्तिमान छ ।

बिहीबार शिरीष गुरुङले १ सय मिटर फ्रिस्टायल र टीसा शाक्यले ५० मिटर ब्रेस्ट स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

 तेक्वान्दोः वीर र भुपेन पराजित 

पुरुष ६३ केजीमुनि नेपालका वीरबहादुर महरा प्रिक्वार्टरफाइनलमै रोकिए । वीर कजाख्स्तानका खेलाडीसँग ३०–१९ ले पराजित भए । त्यसअघि वीरले अफगानिस्तानका खेलाडीलाई २४–१३ ले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

पुरुष ८० केजीमा नेपालका भुपेन श्रेष्ठ अफगानिस्तानका रमेश हुसानीसँग २७–७ ले पछि परे । तेक्वान्दोको अन्तिम दिन बिहीबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । 

लनटेनिसमा चुनौती समाप्त 

लनटेनिसमा नेपालको चुनौती समाप्त भएको छ । महिला डबल्समा बुधबार नेपालका मायांका राणा र माहिका राणाको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो । पालेम्वाङमा जापानका मोयुका उचिजिमा र इरिका हायासीको जोडीले मायांका र माहिकाको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

 भलिबलः नेपालको पहिलो पराजय 

पुरुष भलिबलमा नेपालले पराजय भोगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल चाइनिज ताइपेईसँग २५–२३, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित भयो । समूह डीमा रहेको नेपालले शुक्रबार दक्षिण कोरिया विरुद्ध खेल्नेछ । 

कबड्डीमा पहिलो जित 

पुरुष कबड्डीमा नेपालले चार खेलमा पहिलो जित हात पारेको छ । समूह ‘बी’ को लिगमा नेपालले मलेसियालाई २९–१७ ले पराजित गर्दै पहिलो जित हात पा¥यो । इरान विरुद्धको खेलमा भने नेपाल ७१–२१ ले चुक्यो ।

नेपाल यसअघि इन्डोनेसिया र जापानसँग हारेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

प्याराग्लाइडिङः टिम एक्यूरेसीमा नेपालले पदक जितेन 

प्याराग्लाइडिङको पुरुष टिम एक्युरेसीमा नेपाल आठौं भएको छ । नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङले प्रतिस्पर्धा गरेका थिए । यो इभेन्ट्समा आयोजक इन्डोनेसियाले स्वर्ण जितेको छ । दक्षिण कोरियाले रजत र थाइल्यान्डले कास्य पदक हात पारे ।

महिला टिम एक्युरेसीमा नेपाल सातौं स्थानमा रह्यो । नेपाली टिमबाट त्रिसा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गरेका थिए । महिला टिम एक्युरेसीको स्वर्ण थाइल्यान्डले जित्यो । इन्डोनेसियाले रजत र दक्षिण कोरियाले कास्य प्राप्त गरे ।

यता पुरुष व्यक्तिगत एक्युरेसीमा नवौं राउन्डको खेल सकिँदा नेपालका विजय गौतम १७ औं र सुशील गुरुङ २१औं स्थानमा छन् । यो स्पर्धाको फाइनल बिहीबार हुनेछ । शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ ।

 उसुमा सुस्मिता सातौं 

महिला छान छ्वानमा नेपालकी सुस्मिता तामाङ सातौं भइन् । ९ खेलाडी सहभागी उक्त स्पर्धामा सुस्मिताले ९.२५ अंक बटुलिन् । चीन पहिलो, मकाउ दोश्रो र भियतनाम तेश्रो भए । बुधबारको खेलसंगै उसु सम्पन्न भएको छ ।
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया