गोरखाको क्यान्टिलिभर पुलमा क्षति

 भदौ ७, २०७५ बिहिबार १०:१२:१२ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेपालमै पहिलो पटक गोरखामा बनाइएको क्यान्टिलिभर पुलमा पहिरोले क्षति पुर्‍याएको छ ।

गोरखाको चुमनुब्री गाउँपालीका ४ को सर्दी भिरमा पहरा खोपेर पुल बनाइएको थियो । स्यार खोलाको बाढीले किनारमा कटान गरेर पदमार्ग बगाएपछि  भिर खोपेर क्यान्टिलिभर पुल बनाइएको हो ।

डेढ वर्षअघि बनाइएको पुलका विभिन्न भागमा पहिरोसँगै खसेको ठूल्ठूला ढुंगाले क्षति पुर्‍याएको चुम्चेतका स्थानीयवासी गोपाल लामाले बताउनुभयो । २ सय २५ मिटर लामो पुलको दुई ठाउँमा झण्डै ६ मिटर पुलको भागमा क्षति पुर्‍याएको उहाँले बताउनुभयो । ‘पुलको डेक र छेउको पोल भाँचिएको छ’, लामाले भन्नुभयो, ‘डेक भाँचिएको ठाउँमा काठको फल्याक राखेर हिँड्न मिल्ने बनाइएको छ ।’

पहिरोले पुलको एक भाग बाँङ्गिएको र बार पनि भाँचिएको उहाँले बताउनुभयो । छेउमा बार भाँचिएको र मानिस हिँड्ने भागमा फल्याक राखेर ओहोरदोहोर गर्दा जोखिम बढेको उहाँको भनाई छ । 

मनासलु पदमार्गबाट चुमभ्याली जाने पदमार्ग अन्तर्गत सर्दी भिरमा क्यान्टिलिभर पुल बनाइएको हो । पुलमा जोखिम भएपछि साविकको चुम्चेत र छेकम्पारका बासिन्दासहित चुमभ्याली घुम्न जाने पर्यटकलाई समस्या भएको छ । ‘मान्छे त जोगिँदै हिँड्न सक्छ तर खच्चड हिँडाउन गाह्रो परेको छ’, चुमनुब्री–४, का वडाध्यक्ष लोप्साङ लामाले बताउनुभयो ।

सर्दी भिरबाट बेलाबेला ठूला ढुंगा खसिरहने भएकाले पहिरोसँगै पुलमा ठूलो क्षति पुग्ने सम्भावना रहेको उहाँको भनाई छ । अहिले क्षति पुगेको भागको मर्मतका लागि गाउँपालिकाले पहल गरेको छ ।

‘हामीले मर्मत गर्न सक्दैनौं, मर्मत गर्न इञ्जिनियर नै चाहिन्छ’, गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले भन्नुभयो, ‘हामीले पुलको काम गरेको कम्पनीलाई खबर गरेका छौं ।’ २०७२ सालको भूकम्पपछिको पहिरो र स्यारखोलामा आएको बाढीले मनासलु पदमार्ग कटान गरेपछि चुमभ्यालीका बासिन्दाको आउजाउको बाटो बन्द भएको थियो ।

अवरुद्ध बाटो खुलाउन झोलुङ्गे पुलमै प्रयोग गरिने स्टिलका संरचनाहरु प्रयोग गरी भित्तामा खोपेर क्यान्टिलिभर पुल जडान गरिएको हो । बेलायतको दातृ संस्था युकेएडको आर्थिक सहयोगमा नेपाल बजार विकास कार्यक्रमले पुल निर्माण गरेको हो ।

मनासलु पदमार्ग अन्तर्गत लार्केपास गर्ने पदमार्गतर्फ यारु बगरमा ३ करोड ७५ लाख रुपैयाँमा १ शय ९५ मिटर र चुमभ्याली जानेबाटोतर्फ स्यारखोलाको भिरमा ४ कराडे १५ लाख लगानी गरी १ सय २७ मिटर लामो पुल बनाइएको छ ।

पुलको कम्तिमा ५० वर्षसम्म टिक्ने प्राविधिकहरुले बताएका छन् । तर पहिरोले ठाउँठाउँमा क्षति पुर्‍याएकाले समस्या परेको स्थानीय बासिन्दाको भनाई छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया