दिनभर तनावग्रस्त बन्यो महेन्द्रनगर : अश्रुग्यास, गोली र कर्फ्यूसँगै प्रदर्शन

 भदौ ७, २०७५ बिहिवार १९:२४:५९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – अघिल्ला दिनहरुमा जस्तै बिहीबार बिहानैदेखि स्थानीयबासिन्दा सडकमा जम्मा भए । उनीहरुले ‘एसपी तिम्रो पाराले, दुःख पाए साराले’ भनेर नारा लगाउँदै बालिका निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गरे । 

निर्मलाको बलात्कार र हत्या भएको तीन हप्तासम्म कुनै प्रमाण हात पार्न नसकेको बताउने प्रहरीले एकाएक सोमबार पत्रकार सम्मेलन गरी हत्या अभियोगमा मानसिक रुपमा अस्वस्थ दिलिप विष्टलाई सार्वजनिक गरेपछि प्रदर्शनले उग्र रुप लिएको हो । 

प्रहरीले वास्तविक हत्यारालाई जोगाउन निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै स्थानीयबासिन्दा तथा व्यवसायी नै आन्दोलनमा लागेपछि स्थिति तनावग्रस्त बन्दै गयो । स्थितिलाई नियन्त्रणमा लिने भन्दै प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ । 

प्रहरी प्रमुख डिल्लीराज विष्टले शान्ति सुरक्षा कायम गर्न नसकेपछि ७ नम्बर प्रदेश प्रहरीले घटनाको छानबिनका लागि एसएसपी विक्रम चन्दलाई कञ्चनपुर खटायो । तर आक्रोशित स्थानीयबासिन्दाले बिहानैदेखि प्रदर्शनलाई झनै चर्काए । 

प्रदर्शनकारीले राजमार्ग तथा चोक–चोकमा टायर बाल्दै प्रहरी प्रशासनविरुद्ध नारावाजी गरिरहे । गाउँगाउँबाट जम्मा भएर जिल्ला प्रशासन अगाडि प्रदर्शन गर्न पुगेका स्थानीयबासिन्दामाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्यो । प्रहरीको प्रतिकारमा उत्रिएका प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले गोली नै चलायो । 

गोली लागेर ३ जना घाइते भएका छन् भने प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा अरु ५ जना घाइते भएका छन् । 

गोली लागि घाइते हुनेमा कैलाली कैलारी गाउँपालिका ३ का सन्तोष कठरिया, भिमदत्त नगरपालिका २ का तेजराज भट्ट र महेन्द्रनगर बजारका अर्जुन भण्डारा छन् । 
घाइतेमध्ये अर्जुन भण्डारा र तेजराज भट्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको महाकाली अञ्चनल अस्पतालले जनाएको छ । भण्डाराको अवस्था गम्भीर रहेको छ । 

अरु घाइतेहरुमध्ये कृतप्रसाद पनेरु, मनोज बुढा, सञ्जय खड्का, हर्कबहादुर पाल र महेशराज भट्टले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित भिडले जिल्ला ट्राफिक कार्यालय तथा प्रहरीको गाडीमा तोडफोड गरेको छ । 

प्रदर्शनकै क्रममा प्रहरीले गोली नै चलाएपछि महेन्द्रनगरको स्थिति दिनभर तनावग्रस्त भयो । 

सुरक्षा स्थिति बिग्रिँदैै गएपछि जिल्ला प्रसाशनमा बसेको सुरक्षा समितिको बैठकले बिहीबार बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यूआदेश जारी गरेको छ । 

तर, कर्फ्यू लगाइए पनि प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन् । कर्फ्यूपछि पनि प्रदर्शनले निरन्तरता पाएपछि भिडलाई तितरवितर पार्न प्रहरीले हवाइफायर तथा दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ । 

गएको साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेको थियो । उनको हत्यापछि स्थानीयबासिन्दाले बलात्कार र हत्यामा संलग्न दोषीलार्ई कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए । 

स्थानीयबासिन्दाको अवरोधकाबीच प्रहरी प्रशासन र राजनीतिक दलले यथाशीघ्र अपराधीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि तीन दिनपछि निर्मलाको अन्त्येष्टि भएको थियो ।

याे पनि पढ्नुहाेस् 

निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानबिन समिति गठन, कञ्चनपुरका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

निर्मला हत्या प्रकरण : आन्दोलनले उग्र रुप लिँदै, कञ्चनपुरमा कर्फ्यू

कञ्चनपुरमा गोली चल्यो : आठ घाइते, एक जनालाई उपचारका लागि भारत लगियो

 

 

उज्यालो टिभीको भिडियो कथा हेर्नुहोस् 

 

अन्तिम अपडेट: असोज ३, २०७५

दुर्गा उपाध्याय

कञ्चनपुरका उज्यालो सहकर्मी दुर्गा उपाध्यायलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया