निराश बन्दै सप्तरी भारदहका केरा किसान

 भदौ ८, २०७५ शुक्रबार ९:८:४५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – प्रदेश नम्बर–२ मै केरा खेतीको हब मानिने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका किसानहरु केरा खेतीबाट विस्थापित हुन थालेका छन् ।

रसायनिक मल, प्राविधिक र किटनाशक औषधीको अभावका साथै उचित लागत अनुसारको बजार भाउ नपाउँदा केरा कृषकहरु निरुत्साहित हुन थालेका हुन् ।

कोशी नदीको बगर तथा आसपास क्षेत्रमा जिल्लाको भारदह, पोर्ताहा, मधवापुर, योगिनियाँ, हनुमाननगर, भलुवालगायतका गाउँका किसानले करिब एक हजार बिघा जमीनमा केरा खेती गर्दै आएका छन् ।

पाँच सय परिवारको गुजाराको माध्यम बनेको केरा खेती सहज मल, किटनाशक औषधी, प्राविधिकको रेखदेख र उचित बजारभाउ समेत नपाउँदा केरा खेतीबाट विस्थापित हुने अवस्था आएको केरा कृषक रामजनम यादवले दुःखेसो सुनाउनुभयो । 

केरा खेतीका लागि सहज रुपमा सप्तरी जिल्लामा मल पनि नपाइने बताउँदै उहाँले भन्नुभयो ‘सप्तरी जिल्लामा रसायनिक मल उपलब्ध नभएपछि सुनसरीबाट दुःख गरेर ल्याउनुपर्ने अवस्था छ, अर्को मुख्य समस्या प्राविधिकको सहयोग नपाउनु हो ।’ निक्कै मेहनत गरेर उत्पादन भएको केराले उचित बजार भाउ नपाउने अवस्था रहेकोले विस्तारै केरा खेतीबाट किसानहरु अन्य कामतर्फ लाग्न थालेको उहाँले बताउनुभयो ।

शुरुमा केही किसानले थालेको केरा खेती अहिले सघन रुपमा हुँदै आए पनि सरकारी स्तरबाट आफूहरुले कुनै सुविधा नपाएको अर्का केरा कृषक सुधेश्वर रजकले बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रदेश नम्बर २ को ब्राण्डको रुपमा भारदहको केरा खेतीलाई स्थापित गर्न सकिन्छ तर यसतर्फ अहिलेसम्म कुनै पहल भएको छैन ।

अत्यधिक मेहनतका बावजुद पनि उत्पादित केराले उचित मूल्य पाउने अवस्था नरहेकोले केरा खेतीमा लागेका युवाहरु विस्तारै निराश भएर वैदेशिक रोजगारीमा जान थालेको स्थानीय राजु शर्माले बताउनुभयो । केरा खेतीलाई प्रोत्साहन गर्नुका साथै बजार व्यवस्थापनमा ध्यान दिए सप्तरी जिल्लाको मात्र नभई प्रदेशको आर्थिक समृद्धिमा समेत मद्दत मिल्ने प्रबल सम्भावना रहेको उहाँको भनाइ छ ।

प्रदेश २ को भूमी व्यवस्था एवम् कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशकै नमूना केरा खेती हुने भारदहलाई स्पेशल जोनको रुपमा विकास गर्न विशेष योजना ल्याइने विश्वास व्यक्त गर्नुभयो । विगतमा केरा किसानहरुले झेल्दै आएको मल, किटनाशक औषधि, कृषि प्राविधिकलगायतको समस्यालाई समाधानका लागि पहल गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

बाघनगर, नटबर, जहाजी, चिनीचम्पा, कुरकुटियालगायत विभिन्न जातका केरा बाह्रै महिना उत्पादन हुँदै आएको यहाँबाट दैनिक ५ ट्रक केरा निर्यात हुने गर्दछ । 

काठमाडौं, पोखरा, नारायणघाट, वीरगञ्ज, जनकपुर, विराटनरलगायत शहरमा भारदहको केरा पुग्ने गरेको छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया