गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले

 भदौ ९, २०७५ शनिबार ९:१४:४१ | मिलन तिमिल्सिना
unn.prixa.net

कम्युनिष्टलाई दुई तिहाई धेरै भयो, कांग्रेसलाई भोट थोरै भयो । समृद्धिको कुरा गफैमा बिलायो, करको करकापले नागरिकको भोक, निद्रा हरायो ।

सिंहदरबारमा ओली, कञ्चनपुरमा गोली । सधैं शान्ति सुरक्षाको खोजी, न आज पाइन्छ न भोलि ।

सडकमा बाढी र भेल । गफ चाहिँ दिनहुँ पानीजहाज र रेल । नागरिकको भान्सामा छैन नुन र तेल । खाली जालझेल र खेल । के के न गर्छु भन्ने ओलीको काम गराईमा मिलेन तालमेल ।

सरकारको नारामा सबै नेपाली सुखी, व्यवहारमा सबै दुःखी । दुई तिहाईको सरकार नहुँदा सधैं निराश, दुई तिहाई भएर पनि भएन केही आश । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई बोल्न मात्र ठिक्क । गफ मात्रै सुनेर नागरिकलाई दिक्क । 

यता पनि भएन, उता पनि भएन । सडकमा भएका सत्तामा पुगे, सत्तामा भएका सडकमा पुगे, तर भोट दिनेले केही पाएन । उनीहरु नेताका तालमा मच्चिए, अहिले आएर आफै थच्चिए । 

पृथ्वी गोलो छ, कुर्सीमा ओहोरदोहोर गर्नेको खेला पनि गोलै छ । कहिले यो बस्छ, कहिले त्यो बस्छ । कहिले यो थचारिन्छ, कहिले उ बटारिन्छ । नेतालाई पालैपालो कुर्सी र मोज । नागरिकलाई न भोज न मोज ।

यता अस्वीकार । उता बलात्कार । त्यता नमस्कार । यता लम्पसार । अस्तव्यस्त, अलपत्र, यो भद्रगोलले कहिले पाउला पार ?

काम गराईको मिलेन मात्रा । भद्रगोलकै बीचमा आइसक्यो गाईजात्रा । गाईजात्राको अवसरमा यसपटक पढ्नुहोस् नेताजात्रा :

करप्रसाद बोली

दुई तिहाईले नि केही नापिएन, कसको पर्नु भर
समृद्धिको बाटोभरी जताततै कर
कामभन्दा कुरा धेरै, किन मान्नु डर
पानीजहाज, रेल ल्याइन्छ,पत्याउँदैनन् तर ।

फुस्कल दाहाल

पुष्पभन्दा बलियो थियो प्रचण्ड त्यो ताप
साथीभाइले छाड्दै गए, मलिन भयो राप
राप खोज्दै भौंतारिंदा ओलीजीको साथ
युद्ध, क्रान्ति त्यस्तै रैछ, पद हो सधैं माथ ।

धेरथोर लेउवा

दुई वामले गला जोडे, भएँ उत्तानो टाङ
अर्काकोमा जुम्रो देख्छु, हेर्दिन आफ्नो आङ
बोली व्यवहार सुध्रिएन, आफ्ना भए टाढा
बुढो रुखलाई कसो गरी पार्ने होला गाढा ?

रामराम दौडेल

वामेहरुलाई के दोष दिनु, आफ्नैले धेर हेपे
अघि बढ्न किन दिन्थे, भित्तै सम्म चेपे
कहिले आउला प्रधानमन्त्री हुने मेरो पालो
आफ्नो मन छ सधै सफा, अरु भन्छन् कालो

बाबाधाम भट्टदाइ

एउटै कम्युनिष्ट बनाउने मेरो थियो धोको
फस्ल्याङफुस्लुङ के के गरे भईयो बलीको बोको
कांग्रेसको बुई चढी, जित्न ल्याए भोट
नाम मात्रै भो नयाँ शक्ति, पाइलैपिच्छे चोट

नामबहादुर नथापा

सधैंभरी गर्जिंदैन आकाशको बादल
कहाँ कता के मिल्दैन, यता पनि यही हाल
प्रचण्डजस्तै लाग्थे प्रकाण्ड नि पहिले
सधैं उस्तै कहाँ हुन्छन् र, शत्रु भए अहिले ।

पदेन्द्र यादव

मन्त्री नभई धित मर्दैन, फेरि मिल्यो पद
आफ्नो दुनो सोझिएपछि अग्लो हुन्छ कद
गच्छदार र महतो जिल्लिए यसपटक
पद गुमे जय मधेश, बनाइन्छ घटक ।

मौन वैद्य

प्रचण्ड जीलाई सत्ता प्यारो नेत्रविक्रमलाई जंगल
आफ्नो भने कसैगरी भएन है मंगल
पहिले चुनाव बहिष्कार, अहिले स्वीकार
जनताले पत्याउँदैनन्, हवस् त नमस्कार

वामन दैव गौतम

दुई वाम एक ठाम ल्याउने नामै मेरो वाम
चुनावमा हराएर बनाइहाले बेकाम
म नभई कहाँ हुन्छ, जित्नु पर्यो फेरि
डोल्पालीलाई मनाउनु पो लौन कसोगरी ?

विचित्र केसी

संघीयता काम छैन भन्या हो नि पहिले
जताततै कर तिर्दा बल्ल चेते अहिले
थ्रेसहोल्डले थला पार्यो, न मन्त्री न सांसद
अब आशा मरिसक्यो, कहाँ मिल्ला र पद

कोमल थापा

मान्छेले नि बिर्सिसके, हरायो मेरो नाम
न राजा, न जनता कतै मिलेन काम
गाईलाई माया गर्ने छैनन् अब मान्छे
दाउ अझै हेरिराछु कसरी मिल्ला भान्छे ?
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया