प्रदेश १ : नेतृत्व छान्न सुनसरी र झापामा नेकपालाई सकस, मोरङमा सहमति

 भदौ १०, २०७५ आइतबार १३:१७:७ | सुमन पुरी
unn.prixa.net

सुनसरी – माओवादी र एमाले एकता भएको महिनौ भए पनि प्रदेश नम्बर एकका  जिल्ला कमिटी बन्न सकेको छैन् ।

एमालेका भिम आचार्य, शेरधन राई, माओवादीका राम कार्की र साबित्रीकुमार काफ्ले नेतृत्वको प्रदेश स्तरीय कार्यदल प्रदेश नम्बर एकका जिल्लाहरुमा कुन–कुन पार्टीले नेतृत्व लिने भन्ने सहमति नजिक पुगे पनि जिल्लाको नेतृत्वमा को जाने भन्ने सहमति हुन सकेको छैन ।

पार्टी भित्रको आन्तरिक गुटबन्दीले अहिले पार्टीहरुले जिल्लाको नेतृत्वमा पठाउने व्यक्तिको नाम सिफारिस गर्न सकेका छैनन् । एमाले भित्रको ओली गुट र नेपाल गुटका कारण को नेतृत्वमा जाने भन्ने सकस छ भने पूर्व माओवादी भित्र पनि यही समस्या देखिएको छ ।

जिल्लास्थित नेताहरु अहिले आफू गुटका नेताहरु खुशी पार्न लागेका छन् । प्रदेश नम्बर एकमा पूर्व एमालेका पार्टी सचिब भिम आचार्यको आप्mनै गुटबन्दीका कारण थप समस्या भएको नेकपाका नेताहरु बताउँछन् ।

प्रदेश १ मा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । तर सुनसरीमा भने अहिले पनि विवादै देखिन्छ । सुनसरीमा जिल्ला अध्यक्ष अथवा इन्चार्ज मध्ये एउटा माओवादीले पाउनु पर्ने माग गरेको छ ।

माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन ।

अध्यक्ष र इन्चार्जमा को–को ?

प्रधानमन्त्री केपी ओलीको गृह जिल्लामा पनि नेतृत्वमा को जाने भन्ने विवाद कायमै छ । तर  नेतृत्व भने एमालले लिने सहमति भएका कारण खास विाद देखिएको छैन ।

झापामा एक सय ७५ जनाको जिल्ला कमिटी बन्ने समझदारी भएको छ । जसमा एक सय ५ जना पूर्व एमालेका तर्फबाट र ७० जना पूर्व माओवादीको तर्फबाट जिल्ला कमिटीमा जाने छन् ।

इन्चार्जमा पूर्व एमालेका रवीन कोइराला र देवेन्द्र दाहालका बीचमा प्रतिस्पर्धा छ । देवेन्द्र अध्यक्ष ओलीका निकट र विश्वास पात्र हुन् भने रवीन कोइरालालाई नेपाल पक्षका बलियो नेता मानिन्छ ।

देशै भरको नेतृत्वमा नेपाल पक्ष कमजोर भए पनि झापामा भने रवीनकै दाबी रहेको नेकपा श्रोतले जनाएको छ । सह इन्चार्जमा माओवादीका झलक सिंह दर्लामीको पक्का भए पनि प्रदेशमा मन्त्री हुने अवस्था आएपछि झलकसिंहको ठाँउमा सीपी कडरीयालाई माओवादीले पठाउन सक्ने छ ।

अध्यक्षमा भने एमाले भित्रै विवाद देखिएको छ । पूर्व संसद दीपक कार्की र पूर्व जिल्ला अध्यक्ष चिन्तन पाठक मध्ये एकजना अध्यक्ष हुने भए पनि अहिलेसम्म सर्वसम्मत हुन सकेको छैन ।

चिन्तन ओलीका विश्वास पात्र भए पनि दीपक ओली पक्षकै नेता भएका कारण अध्यक्ष को बन्ने भन्ने अहिले भन्न सकिने अवस्था छैन ।  सचिवमा भने विजय साम्पाङ्गको संभावना बलियो छ ।

तर गगन पुरीको दावी समेत अहिले पनि छँदैछ । झापा अध्यक्ष तथा प्रधानमन्त्रीको गृह जिल्ला भएका कारण कसको नाम अध्यक्षमा पठाउने भन्ने कार्यदलले निर्णय गरिसकेको छैन ।

नेकपा श्रोतले भन्यो, ‘ओलीले जसलाई चाहनु भयो, उही अध्यक्ष बन्ने अवस्था छ ।’ मोरङगमा भने नेकपा भित्रको नेतृत्वमा सहमति भएको छ ।
मोरङमा पूर्व एमालेका ऋषि पोखरेल अध्यक्ष बन्नु हुने भएको छ भने सचिवमा माओवादीका  गणेश उप्रेती शुशीलको नाम कार्यदलले  सिफरिस गरेको छ । 

इन्चार्ज र सह इन्चार्जमा औपचारिक रुपमा निर्णय नभए पनि एमालेका बिनोद ढकाल र सह गोपी आक्षामीको नाम चर्चामा छ । हुन त महेस रेग्मीले सेमत इन्चार्जमा दाबी गरेको देखिन्छ ।

तर बिनोद ढकाल र गोपीमा सहमति हुने नेकपा श्रोतले बताएको छ । मोरङमा एक सय ८५ जनाको जिल्ला कमिटी बन्ने छ । जसमा एमालेबाट १ सय १० र माओवादीबाट ७५ जना जिल्ला कमिटीमा जाने सहमति भएको छ ।

नेतृत्वमा कसलाई पठाउने भन्नेमा सुनसरीमा सबैभन्दा बढी विवाद देखिएको छ । अध्यक्षमा माओवादीले समेत दाबी गरिरहेको अवस्थामा कसलाई अध्यक्ष बनाउने भनेर कार्यादलले सिफारीस गर्न सकेको छैन ।

जिल्लास्थित कार्यदलको बैठकले दुवै पार्टीको दाबी रहेको र टुङ्गोमा पुर्याउने जिम्मा प्रदेश स्तरीय कार्यदललाई दिएको छ । प्रदेश स्तरीय कार्यदलमा समेत नामका विषयमा भने विवाद रहेको छ ।

मुख्य मन्त्री तथा कार्यदलका सदस्य शेरधन राईले  रेबतीरमण भण्डारीलाई अध्यक्ष बनाउने चाहाना व्यक्त गर्नु भएको छ भने एमालेका पूर्व सचिव तथा प्रदेश इन्चार्ज भिम आचर्यले रमेश बस्नेतलाई अध्यक्ष बनाउने इच्छा व्यक्त गर्नु भएको छ ।

स्थानीय तहको चुनावदेखि नै सुनसरीमा देखिएको गुटगत राजनीतिका कारण भिम आचार्य र भिम आचार्य विरोधी खेमाको शिकार कार्यादल परेको छ । अध्यक्षमा माओवादीको पनि दाबी कायमै छ ।

माओवादीमा शिव डाँगी र मुक्साहाङ मेन्याङ्वो अध्यक्षको बन्ने भन्ने दौडमा देखिनु भएको छ । इन्चार्जमा भने धर्म निरौलाको नाम आएको छ । सुनसरीमा एक सय ६५ जनाको जिल्ला कमिटी बन्ने र एमालेबाट एक सय र माओवादीबाट ६५ जना जाने सहमति भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया