पोखराकी किशोरी केसीको हत्याबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरुको माग

 भदौ १०, २०७५ आइतबार १४:३१:४७ | उज्यालो सहकर्मी

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले पोखरा लामाचौरकी किशोरी पुष्पा केसीको हत्याबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आइताबारको बैठकको शुन्य समयमा बोल्दै सांसद बिन्दा पाण्डेले पोखरा लामाचौंरकी १३ वर्षीया किशोरी पुष्पा केसीको पनि हत्या भएकोमा आपत्ति जनाउँदै त्यस घटनाबारे छानबिन गरी दोषी माथि कडा कारबाही गर्न सरकारसँग माग गर्नु भएको हो ।

उहाँले देशका विभिन्न भागमा महिलामाथि हत्या, हिंसालगायतका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै तत्काल नियन्त्रण गर्न महिला हिंसाविरुद्ध प्रतिनिधिसभाले पास गरेको संकल्प प्रस्ताव कार्यान्वयनमा लैजान पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा बोल्दै शान्तिमाया तामाङ पाख्रिनले माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा ठूलो घोटाला भएको दावी गर्दै तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले झण्डै ३५ अर्ब लागतमा सम्पन्न गर्ने भनिएको त्यस आयोजनाको लागत दोब्बर पुग्ने अवस्था आएको भन्दै त्यसको कारणको खोजी गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षंण गराउनुभयो ।

सांसद शशी श्रेष्ठले गरिबलाई दिने भनिएको राष्ट्रिय गरिब परिचय पत्रमा घोटाला भएको भन्दै तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो । देशका २५ वटा जिल्लाहरुमा राष्ट्रिय गरिब परिचय पत्र वितरणको काम जारी छ । सांसद श्रेष्ठले त्यस परिचय गरिबको नाममा धनीलाई दिने गरिएको पाइएको उल्लेख गर्दै त्यसको छानबिन गरी कारबाही गर्न माग गर्नु भएको हो ।

बैठकमा सांसदहरुले कृषकहरुलाई उचित मलखादको व्यवस्था गर्न पनि माग गर्नुभयो । सांसद सरिताकुमारी गिरीले कृषकहरुलाई उचित मलखादको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । सांसद सिताराम महतोले सुनसरीमा सिँचाइको उचित व्यवस्था गर्न माग गर्दै सुनसरी खोला सिँचाई परियोजना छिटो निर्माण सम्पन्न गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

सांसद संजयकुमार गौतमले बर्दियास्थित बबई नदीमा पुलको तत्काल निर्माण गर्न माग गर्नुभयो । अर्का सांसद सूर्यप्रसाद पाठकले खानी कब्जा गर्न माफियाहरु लागि परेको भन्दै त्यसलाई नियन्त्रणमा लिन सरकारसँग माग गर्नुभयो ।

सांसद विनाकुमारी श्रेष्ठले अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरुको पञ्जीकरणको काम स्थानीय तहबाट तत्काल गर्ने व्यवस्था गर्न पनि माग गर्नुभयो । उहाँले अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरुको उचित पारिश्रमिकको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारसँग माग गरेका छन् । सांसद शान्त चौधरीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थानीय तहमा कर बढाएको जस्ता भ्रमपूर्ण प्रचारबाजी गरिएकोभन्दै त्यसलाई स्पष्ट पार्न विशेष योजना ल्याउन सरकारसँग माग गर्नुभयो ।
त्यसैगरी सांसद लालकाजी गुरुङले मूल्यवृद्धिले जनता मारमा पर्दा पनि वेबास्ता गरिएको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया