लमजुङका ७९ घर बाढी–पहिरोको उच्च जोखिममा

 असार ६, २०७८ आइतबार १९:३०:५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका ७९ घर बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । लमजुङको बेसीसहर नगरपालिकाका १५, दोर्दी गाउँपालिकाका ५६, राइनास नगरपालिकाका दुई, मध्यनेपाल नगरपालिकाका एक र क्वहोलासोँथर गाउँपालिकाका पाँच गरी ७९ घर बाढी र पहिरोको उच्च जोखिममा रहेकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।

मनसुन सुरु भएसँगै आएको बाढीले लमजुङमा पनि क्षति पुर्‍याएकाे छ । जिल्लामा बाढी र पहिरोबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै भएको छ ।

वर्षासँगै आएको बाढीले गएको मङ्गलवार दोर्दी गाउँपालिका क्षेत्रका १८ घर र मर्स्याङ्दी गाउँपालिकाको एक घर गरी लमजुङमा १९ घर बगाएको थियो । बाढीले दोर्दी करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएकाे छ ।

बाढीले २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजना, १० मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजनाको पावर हाउस, ड्याम साइटमा क्षति पुर्‍याउनुका साथै दोर्दी करिडोरमै रहेको २५ मेगावाट क्षमताको दोर्दी 'ए' जलविद्युत् आयोजनाको बाँध क्षेत्र भत्काएको र ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजनाको ड्याम साइटमा क्षति पुर्‍याएकाे दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो ।

उहाँका अनुसार बाढी नियन्त्रणका लागि तत्काल बाँध लगाउने, बन्द भएकाे बाटो खुलाउने र सबैको सहयोग र समन्वयमा विस्थापितलाई सुरक्षित ठाउँमा टहरा बनाइ स्थानान्तरण गर्ने योजनाका साथ पालिका सरकार अघि बढेको छ ।

यस्तै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र कमजोर तथा भिराला जमिनमा पहिरोको उच्च जोखिम हुने हुँदा स्थानीयवासीलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईँटेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया